काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२९ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । इरानको नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनीईको पहिलो आधिकारिक सन्देश इरानी टेलिभिजनमार्फत प्रसारित गरिएको छ । समाचार प्रस्तोताले खामेनीको उक्त सन्देश टेलिभिजन च्यानलमा पढेर सुनाएका थिए ।

खामेनीले आफ्नो सन्देशमा होमुज जलमार्गको नाकाबन्दी जारी राख्ने र मिनाब विद्यालयका बालबालिकासहित सहिद भएकाहरूको रगतको बदला लिनेमा विशेष जोड दिएका छन् ।

यसका साथै इरानको टेलिभिजनमार्फत नेताको रूपमा उनको चयनका लागि विज्ञहरूको सभाले गरेको मतदानको नतिजाबारे जानकारी गराइएको मोज्तबा खामेनीईले बताएका छन् ।

अमेरिका र इजरायलसँग इरानको जारी युद्धको सन्दर्भ जोड्दै खामेनीले लगातार आक्रमण जारी राख्न आह्वान गरेका छन् । उनले भने, “अन्य नयाँ मोर्चाहरू खोल्ने विषयमा विचार भइरहेको छ, जहाँ शत्रुसँग कम अनुभव छ ।” यसका साथै उनले यमनमा रहेका इरानका सहयोगीहरू, लेबनानको हिजबुल्लाह र इराकमा रहेको ‘रेजिस्टेन्स’ (प्रतिरोध समूह)को प्रशंसा गरे ।

सोमबार विज्ञहरूको सभाले उनलाई इरानको इस्लामिक गणतन्त्रको तेस्रो सर्वोच्च नेताको रूपमा प्रस्तुत गरेको थियो । इरानको न्यायपालिका, सुरक्षा र सैन्य संयन्त्रलगायत सबै संस्थाहरूले उनको चयनको स्वागत गरेका छन् । उनीप्रति निष्ठाको शपथ लिएका छन् ।