काठमाडौँ। नेपाल प्रहरीले जेन जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले जेन जेड आन्दोलनका क्रममा जबरजस्ती करणी मुद्दा र सरकारी कागज छाप दस्तखत कीर्ते गरेर फरार रहेका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउपर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीका ३० वर्षीय नुमेश वाइबा र खोटाङ बराहपोखरीका ४१ वर्षीय नवराज लुइँटेल रहेका छन्। ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले वाइबालाई जबरजस्ती करणी र लुइँटेललाई सरकारी कागज छाप दस्तखत कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका वाइबा जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा र लुइँटेल जिल्ला अदालत काठमाडौँबाट फरार रहेका थिए।
वाइबालाई स्वयम्भू र लुइँटेललाई वसुन्धराबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।