काठमाडौं । अमेरिकाले हाल समुद्रमा रहेका जहाजमा ‘लोड’ गरिएको प्रतिबन्धित रुसी तेल र पेट्रोलियम पदार्थ खरिद गर्न विभिन्न देशलाई अनुमति दिएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युद्धको समयमा विश्वव्यापी ऊर्जा बजारमा स्थिरता प्रवद्र्धन गर्न चालिएको यो एक अस्थायी उपाय भएको बताएका छन् । यो अनुमति आउँदो अप्रिल ११ सम्म मात्र लागु हुने बीबीसीले जनाएको छ ।
“यो संकुचित रूपमा तयार पारिएको छोटो अवधिको उपाय पहिले नै ट्रान्जिटमा रहेका तेलहरूका निम्ति मात्र लागु हुन्छ र यसले रुसी सरकारलाई उल्लेख्य वित्तीय लाभ प्रदान गर्ने छैन,” बेसेन्टले भने ।
पश्चिम एसियामा तनावका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । र, सेयर बजारमा गिरावट आएको छ ।
बेसेन्टले अगाडि भने, “तेलको मूल्यमा भएको यो अस्थायी वृद्धि छोटो अवधिको अवरोध मात्र हो, जसले दीर्घकालीन रूपमा हाम्रो राष्ट्र र अर्थतन्त्रलाई ठूलो फाइदा पुर्याउनेछ ।”
बेसेन्टले यसअघि अमेरिकी सरकारले सैन्य रूपमा सम्भव हुनेबित्तिकै हर्मोज जलमार्ग भएर जाने जहाजलाई सुरक्षा घेरा प्रदान गर्न सुरु गर्ने बताएका थिए ।