ज्येष्ठ सांसदका रूपमा संसद्को पहिलो बैठकमा अर्जुननरसिंह केसीले सभामुखको भूमिका निर्वाह गर्ने
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन ५ चैतमा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ। सोही दिन समानुपातिकतर्फका नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत रहेको आयोगले जनाएको छ।
समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र दिएलगत्तै आयोगले शीतलनिवासमा गएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनेछ।
आयोगका अनुसार ५ चैत बिहान साढे ११ बजे आयोग परिसरमा समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ। आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठन र संसदीय गतिविधि सुरु हुनेछ।
प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ नयाँ सरकार गठनका लागि दललाई आह्वान गर्नेछन्। आयोगको प्रतिवेदनमा सबैभन्दा ठुलो दलका रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनका लागि पहिलो अवसर प्राप्त गर्नेछ।
सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्नेछन्। संसदीय परम्पराअनुसार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई राष्ट्रपतिले शपथ गराउनेछन्। त्यसपछि ज्येष्ठ सांसदका रूपमा संसद्को पहिलो बैठकमा केसीले सभामुखको भूमिका निर्वाह गर्नेछन्।