काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

३ चैत्र २०८२
अ+
अ-

नेपालगञ्ज। नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण सम्पन्न भएको छ।

तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गर्न भने बाँकी नै रहेको छ।नागरिक उडड्यन प्राधिकरणका अनुसार भैरहवा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा गुणस्तरीय भवन निर्माण गरिएको जानकारी दिएको छ ।

काठमाडौँपछिको ठूलो विमानस्थल मानिएको नेपालगञ्ज विमानस्थालबाट भारतको प्रमुख सहर दिल्ली, लखनउ उडान गर्ने उद्देश्य सहित नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन अन्तरराष्ट्रिय स्तरको निर्माण गरिएको हो ।

नेपालगञ्ज विमानस्थल टर्मिनल भवन म्याद सकिनुभन्दा करिब डेढ महिनाअघि शर्मा एण्ड कम्पनीले काम पूरा गरेको हो कुल लागत रु २ अर्ब ९८ करोड रहेको गुणस्तर रहेको आयोजनाले जानकारी दिएको छ

अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने बताइएको छ । विसं २०७९ पुसदेखि काम सुरु गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् आगामी पुसमा सक्नेगरी तीव्रता दिएको थियो । टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ ।

पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकजाँच काउन्टर १४, भिआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र (चिल्ड्रेन प्लेइङ एरिया) एक, भन्सार र क्वारेन्टिइन चेकजाँचका लागि अलगअलग कक्ष निर्माण गरिएका छन् ।

नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको व्यवस्थापनसमेत गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी