काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

४ चैत्र २०८२
रवि लामिछाने। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना नेता र दलको त्याग नभुल्न आफ्ना नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन्।

ललितपुरको ग्वार्कोमा रास्वपाका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरणमा समापनमा निर्देशन दिँदै उनले अन्य राजनीतिक दल र विपक्षीप्रति कटाक्ष नगर्न र पुराना दल र नेताको त्याग, तपस्या साथै योगदानको नजरअन्दाज नगर्न निर्देशन दिएका हुन्।

“इतिहास रच्नमा एउटा मान्छे वा एउटा पार्टीको हात हुँदैन। पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनुभएको छ। उहाँहरूका कैयौँ व्यथितिहरू प्रति हाम्रो प्रश्न हो,” उनले भने‚ “तर उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने हक हामी कसैलाई पनि छैन। इतिहास तपाईंले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ।”

सभापति लामिछानेले दुईतिहाइ नजिकको जितले आफूहरू आशा र अपेक्षाको दियो बाल्न सफल भएको बताए। उनले यसलाई निभ्न नदिन सांसदहरूलाई निर्देशन पनि दिए।

लोकतान्त्रिक पद्धति र वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्धता जनाउँदै उनले शासकीय स्वरूपमा केही सुधार चाहिएको हेक्का रहेको उनले बताएका छन्।

सभापति लामिछानेको निर्देशन- देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुनू

सभापति लामिछानेले रास्वपा र समर्थक अराजक र असहिष्णु छन् भन्ने छवि बनेकाले त्यसबाट बाहिर निस्कनुपर्ने बताए। “हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरू प्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो,” उनले भने‚ “विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन। रास्वपालाई प्रायः अराजक छन्। समर्थकहरू असहिष्णु छन् भन्ने छवि बनेको छ। अब त्यसबाट बाहिर निस्कनुपर्छ।”

साथै लामिछानेले सम्पूर्ण रास्वपा समर्थकलाई जिम्मेवार भएर अभिव्यक्त हुन, सामाजिक सञ्जालहरूमा जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गरे। उनले भने‚ “यो रास्वपाले जितेको होइन। देशले जितेको हो। अति संवेदनशील समयमा, धेरै मिहिनेत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले मिहिनेतका साथ अगाडि बढ्न अनुरोध गर्दछु।”

सांसदहरूको अभिमुखीकरणमा रवि लामिछानेको सम्बोधन [फोटो फिचर]