सोलुखुम्बु। नेपाली कांग्रेस सोलुखुम्बुका संगठन विभाग सचिव तथा नेपाल दलित संघका जिल्ला अध्यक्ष कर्णबहादुर विश्वकर्माले पार्टी परित्याग गरेका छन्।
लामो समयदेखि सक्रिय राजनीतिमा रहेका विश्वकर्माले दलित समुदायको पक्षमा पार्टीले अपेक्षित काम गर्न नसकेको भन्दै पद, जिम्मेवारी र सदस्यता सबै त्यागेको घोषणा गरे। जिल्ला कार्यसमिति सोलुखुम्बुलाई सम्बोधन गर्दै लेखिएको पत्रमार्फत उनले विशेष परिस्थिति र कारणवश पार्टीमा रहन असमर्थ भएको स्पष्ट पारेका छन्।
“पार्टीले दिएको जिम्मेवारी नेपाल दलित संघको जिल्ला अध्यक्ष, संगठन विभाग सचिव र मेरो नाममा रहेको क्रियाशील तथा साधारण सदस्यता समेतबाट हटाइदिनुहुन अनुरोध गर्दछु‚” उनले लेखेको पत्रमा छ। २०६४ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा होमिएका विश्वकर्मा २०७० सालयता निरन्तर दुई कार्यकालसम्म नेपाल दलित संघको जिल्ला अध्यक्ष बनेका थिए।