काठमाडौं । पूर्वशिक्षा मन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्नुपर्ने माग गरेका छन्।
बिहीबार आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक बयानमा उनले भनेका छन्, “प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र उनीहरूलाई उद्यमी बनाई नेपालको अर्थतन्त्रको विकास गर्न एकदमै शक्तिशाली विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय चाहिन्छ।”
उनले थपे कि अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत रकम बजेटमा छुट्ट्याउनै पर्ने आवश्यकता छ। उनले चेतावनी स्वरूप भनेका छन्, “यसो गरेन भने देश उँभो लाग्दैन।”
महावीर पुनले यस कदमलाई युवा उद्यमशीलता प्रवर्द्धन र प्रविधिमा आत्मनिर्भरता हासिल गर्न अपरिहार्य रहेको बताएका छन्।