काठमाडौँ। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका ६ का ३८ वर्षीय रकमबहादुर लोप्चन तामाङ र सिरहा मिर्चैया नगरपालिका ३ का २२ वर्षीय लक्ष्मणकुमार यादव छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङलाई काठमाडौँ महानगरपालिका १३ र यादवलाई काठमाडौँ महानगरपालिका ३१ बाट बिहीबार पक्राउ गरिएको हो।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टका अनुसार तामाङले ग्रिस पठाइदिने बहाना बनाएर तीन जनाबाट २५ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। यादवले पाँच जनालाई स्पेन पठाइदिने बहानामा १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको छ।
दुवैजनाले रकम संकलन गरी विदेश नपठाएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।