खिचिक्क
उपत्यकामा दिउँसै अन्धकार‚ मौसम आइतबारदेखि खुल्ने
काठमाडौँ। उपत्यकाका विभिन्न स्थानमा असिनासहित मुसलधारे वर्षा भइरहेको छ।
पश्चिम नेपालका विभिन्न जिल्लामा शुक्रबार बिहानदेखि सुरु भएको हावाहुरीसहितको वर्षा अहिले काठमाडौं उपत्यकामा प्रवेश गरेको हो।
वर्षासँगै आएको बाक्लो बादलका कारण दिउँसै अन्धकारजस्तो देखिएको छ। अचानक मौसम परिवर्तन भई उज्यालो घटेपछि सवारीसाधन सञ्चालन, बटुवा तथा पैदल यात्रुले सास्ती बेहोर्नुपरेको छ।
यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि हावाहुरीसहित वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने मौसमी प्रणाली क्रमशः उत्तर–पूर्वतर्फ सर्दै गएको छ।
महाशाखाले देशका विभिन्न स्थानमा अझै पनि वर्षा, असिना र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
वर्षा र हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो।
मौसम आइतबारदेखि खुल्ने
जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले तीन दिन देशभर बदली, वर्षा र हिमपातको प्रभाव र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। देशभर आगामी तीन दिनसम्म बदलीसँगै वर्षा, हिमपात तथा चट्याङ्गको प्रभाव रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्म विभिन्न प्रदेशमा मेघगर्जन, असिना र हुरीसहित वर्षा हुने सम्भावना छ। शुक्रबार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्यो।
महाशाखाका अनुसार आइतबारदेखि मौसम क्रमशः खुल्ने संकेत छ। पहाडी र हिमाली भूभागमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ। केही स्थानमा मात्र हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको बुलेटिमा उल्लेख छ।
राति पनि अधिकांश स्थानमा आंशिक बदली रहनेछ भने कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने माहाशाखाको पूर्वानुमान छ।
हेर्नुहोस् उपत्यकामा शुक्रबार दिउँसो अचानक पानी परेपछि गन्तव्यतिर जाँदै गरेका सर्वसाधारणका थप तस्बिर :

