काठमाडौँ। ललितपुरको महालक्ष्मी नगरपालिका ५‚ टीकाथलीमा ‘बाइक हस्पिटल’ नामक ग्यारेज सञ्चालन गरी चोरीका मोटरसाइकल खरिद-बिक्री गर्ने समूह पक्राउ परेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ग्यारेजमा छापा मारी विभिन्न स्थानबाट चोरी गरी ल्याइएका मोटरसाइकल बरामद गरिएको हो। प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार चोरीका मोटरसाइकलमा इन्जिन र चेसिस नम्बरसमेत फेरबदल गरी नक्कली कागजात तयार पारेर बिक्री गर्ने गरिएको पाइएको छ।
पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका २ घर भई टीकाथली बस्दै आएका २३ वर्षीय विशाल महतो, बरहथवा २ घर भई काठमाडौँ महानगरपालिका २३‚ नरेफाँट बस्ने २९ वर्षीय भीमबहादुर अधिकारी र रौतहट वृन्दावन नगरपालिका ९ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २७ वर्षीय सन्जीवकुमार कुसवाहा छन्।
प्रहरीले उनीहरूको साथबाट केटीएम ड्यूक २५०, केटीएम ड्यूक २००, रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० गरी चारवटा मोटरसाइकल बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि चोरी तथा किर्तेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ। प्रहरीले यस्तो प्रकारको संगठित चोरी तथा नक्कली कागजात बनाएर सवारीसाधन बिक्री गर्ने गिरोहमाथि निगरानी बढाइएको जनाएको छ।