काठमाडौँ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ‘साउथ एसिया ट्रेड फेयर २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।
सार्क मुलुकका सहभागी काठमाडौँ आउने क्रम सुरु भएको छ। आउने बिहीबार (२४-२८ वैशाख) सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने सार्कस्तरीय मेलालाई व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरका रूपमा हेरिएको छ।
देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय हुने प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। देशमा देखिएका विभिन्न आर्थिक तथा व्यावसायिक परिस्थितिका कारण केही समय गुम्सिएर बसेका व्यवसायीहरू अहिले उत्साहपूर्वक सहभागिताका लागि अग्रसर भएका छन्।
इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रालिद्वारा आयोजना तथा व्यवस्थापन गरिने यस मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्युरो (ईपीबी) को सहकार्यमा सञ्चालन हुन लागेको छ।
मेलालाई इन्डोर्स वाईका रूपमा भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ। मेलाका सहयोगी संस्थामा नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रिज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल-चाइना एक्जिक्युटिभ काउन्सिल, नेपाल कस्मेटिक व्यवसाय संघ तथा विश्व उद्यम सहायता फाउन्डेसन छन्।
मेलामा भारत, बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सलगायत देशहरूको सहभागिता रहने अपेक्षा छ। आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता-बिक्रेताबीच सहकार्य विस्तार गर्नु हो। साथै विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य पनि राखिएको छ। आयोजकले करिब १५० भन्दा बढी प्रदर्शक सहभागी हुने र झन्डै एक लाख स्थानीय दर्शक तथा पाँच हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिको उपस्थितिको अपेक्षा गरिएको मेला संयोजक सुमन महर्जनले बताए।
गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ। निकासी अभिबृद्धि गर्ने उद्देश्य लिई यस प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल गर्ने उद्देश्य राखेको छ।
मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरणलगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू आदि सामग्रीको प्रदर्शनीले आगन्तुकका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ। साथै व्यापारिक भेटघाट, फुड फेस्टिभल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिनेछ।