कृषि
मकैमा हाल्ने युरिया मल नपाएपछि मोरङका किसानलाई पिरलो
विराटनगर। २१ वैशाखको बिहान ८ बजे। मोरङ कानेपोखरी गाउँपालिका-५ भौँसावारीका मोहन धिमाल हतारहतार दुई किलोमिटर उत्तरको रमाइलो बजार पुगे। उनको हातमा एउटा रित्तो बोरा थियो भने मनमा दुई बिघा खेतमा लगाएको मकै र धानका लागि मल पाउने आशा।
कानेपोखरी-६ मा रहेको साना किसान कृषि सहकारी संस्था, बयरवनमा मल वितरण हुँदै छ भन्ने खबर छिमेकीबाट सुनेका धिमाल झिसमिसेमै उठेका थिए। उनी सहकारी पुग्दा किसानहरूको ताँती निकै लामो भइसकेको थियो। किसानलाई प्रतिव्यक्ति १० किलोको दरले मल बाँडिँदै थियो उनी पनि लाइनमा बसे। तर, उनको पालो आउँदा सहकारीका कर्मचारीले मल सकिएको जनाउ दिए। “मल पाउन टन्टलापुर घाममा सेकिँदै चार घण्टाभन्दा बढी लाइनमा बसेँ,” ४२ वर्षीय धिमालले मलिन अनुहार लगाउँदै भने, “साढे १२ बजेतिर जब मेरो पालो आउनै लागेको थियो, तब मल सकियो भन्दै कर्मचारीले सटर लगाइदिए।”

मोहन धिमाल।
उनी त प्रतिनिधि पात्र मात्र हुन्। उनीसँगै लाइनमा बसेका ४०० हाराहारी किसान उक्त दिन रित्तो हात घर फर्कन बाध्य भए। “अहिले मकैमा मल हाल्ने बेला भएको छ, मल नहाले घोगा नै लाग्दैन,” धिमालले पीडा सुनाए, “तर, मल नपाई रित्तो हात फर्कनुपर्यो।”
कानेपोखरी-६ की जितकुमारी राईको पीडा पनि उस्तै छ। डेढ बिघामा खेती गरेकी उनी पनि चार घण्टा लाइन बसेर मल नपाएपछि सहकारीको गेटमै धर्ना बसिन्। “बोरा लिएर घण्टौँ कुर्यौँ, अहिले मल छैन भन्दै कर्मचारी भित्र लुकेका छन्,” आक्रोशित मुद्रामा उनले भनिन्, “मल नपाउन्जेल म यहाँबाट हल्लिनेवाला छैन।”

जितकुमारी राई।
किसानहरूको आक्रोशको अर्को कारण भने सूचनाको अस्पष्टता र वितरणको अपारदर्शिता हो। सहकारीमा ५० बोरा मल आएको हल्ला थियो, तर कर्मचारीले ४० बोरा मात्र वितरण गरेर बाँकी १० बोरा लुकाएको आशंका किसानहरूको थियो। कानेपोखरी-६ कै मणिकुमार तामाङ र सोमनाथ गिरी पनि मल पाउने आसमा दिनभर भोकैप्यासै लाइन बसे, तर उनीहरू निराश बने।

मणिकुमार तामाङ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड बयरवनकी अध्यक्ष यसोदा लिम्बू भने पर्याप्त मल नआएका कारण समस्या भएको बताउँछिन्। “सहकारीमा जम्मा ४५ बोरा युरिया आएको थियो, १० किलोका दरले बाँड्दाबाँड्दै सकियो,” उनले भनिन्, “भएको मल दिएकै हो, तर किसान धेरै भएपछि विवाद भएको हो।”
सरकारी गोदाममा छ, किसानले पाउँदैनन्
मोरङमा मात्र होइन, देशभर नै खेतीको समयमा मलको हाहाकार हुनु नियमित समस्या बनेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार देशभर वार्षिक साढे सात लाख मेट्रिक टन मलको माग छ। तर, सरकारले पाँच लाख मेट्रिक टनको मात्र कार्यक्रम बनाउँछ। माग र आपूर्तिबीचको यही खाडलले मल अभाव हुँदा किसानलाई आन्दोलित बनाउने गरेको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, कोसी प्रदेशका प्रमुख कमल पोखरेलका अनुसार अहिले यस प्रदेशका लागि दुई हजार ११५ मेट्रिक टन खादमलको कोटा तोकिएको छ। युरिया मलको मौज्दात ११ हजार ५५५ मेट्रिक टन भए पनि त्यसमध्ये सात हजार ५०० मेट्रिक टन ‘बफर स्टक’ मा छ। “बफर स्टकको मल संघीय सरकारको अनुमतिविना चलाउन पाइँदैन,” पोखरेलले भने, “पालिकाबाट निर्णय भएर आएपछि मात्रै हामीले वितरण गरिरहेका छौँ।”

मल लिन पुगेका स्थानीय।।
मोरङका लागि ४०५ मेट्रिक टन कोटा छुट्याइएकामा हालसम्म २४३ मेट्रिक टन मात्र वितरण भएको छ। जिल्लाभरका २५० डिलरमार्फत मल वितरण भइरहेको दाबी गरिए पनि किसानको घरसम्म मल पुग्न सकेको छैन।
उता, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोसी प्रदेशका अनुसार गोदाममा ६० हजार ३२२ बोरा युरिया र एक लाख १८ हजार बोरा डीएपी मौज्दात छ। साल्ट ट्रेडिङ कोसीमा आर्थिक वर्ष २०८२/८३ मा युरिया चार लाख ३६ हजार ५५९ बोरा र डीएपी चार लाख ७९ हजार ३९ बोरा आएको थियो।

सोमनाथ गिरी।
सरकारी गोदाममा मल थुप्रिने र किसानको खेतमा नपुग्ने अवस्थाले कृषिप्रधान देशका किसानलाई सताइरहेको छ। कानेपोखरीका किसान रुद्र क्षेत्री भन्छन्, “पसिना बगाएर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने किसानलाई आवश्यक पर्दा खादमल पाइँदैन, अनि किसानले कसरी उत्पादन बढाउन सक्छन्?”