काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

अपराध

‘मुद्दा लगाउने धम्की’ दिएपछि घाँटी थिचेर हत्या, भारत फरार भएका आरोपी दमक फर्केलगत्तै पक्राउ

२२ जेष्ठ २०८३
झापाको दमक घर भएकी रमा तिवारी र तिवारीको शव भेटिएको रतुवा खोला। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। झापाको दमक नगरपालिका-८ की २१ वर्षीया रोमा तिवारी ‘रमा’को हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला घर भई हाल दमक-५ मा डेरा गरी बस्ने ३४ वर्षीय राकेशकुमार पण्डित छन्।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो। प्रहरीका अनुसार पण्डित दमक नगरपालिका-५ मा डेरा गरी बस्दै आएका थिए। उनी दमक आसपासका क्षेत्रमा टायल्स तथा मार्बल जडानको ठेक्कापट्टा र मिस्त्रीको काम गर्दै आएका व्यक्ति हुन्। घटनाको प्रारम्भिक अनुसन्धानबाट आर्थिक लेनदेनको विवादका कारण हत्या भएको खुलेको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले बताइन्।

गत जेठ १६ गते बिहान दमक नगरपालिका-१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोरामा प्याक गरिएको अवस्थामा बेवारिसे शव फेला परेको थियो। मृतकका बुवा नारायण तिवारीले उक्त शव आफ्नी छोरी रमाको भएको सनाखत गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। घटनाको पाँच दिनपछि २१ जेठको राति ११ बजे प्रहरीले पण्डितलाई दमकस्थित उनको डेराबाट पक्राउ गरेको थियो।

चिनजान भएकै दिन हत्या

प्रहरी अनुसन्धानका अनुसार तिवारी र पण्डितबीच हत्या भएकै दिन १६ जेठमा दमकमा भेट भएको थियो। सोही दिन उनीहरू दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकैको झाडी क्षेत्रमा पुगेका थिए। त्यहाँ उनीहरूबीच शारीरिक सम्पर्क भएको खुलेको छ। त्यसबापत पण्डितले दुई हजार रुपैयाँ पैसासमेत दिएको प्रहरीको दाबी छ।

तर, थप रकमको विषयलाई लिएर दुवैबीच विवाद सुरु भएको थियो। “सुरुमा सामान्य भनाभन भएको देखिन्छ। किशोरीले थप पैसा माग गरेको र नदिएमा जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिएपछि पण्डितले आवेशमा आएर घाँटी थिची हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको छ,” एसपी खड्काले भनिन्।

रमा तिवारीको हत्या पछि शव व्यवस्थापनको लागि प्रयोग भएको मोटसाइकल।

हत्या गरेपछि शव व्यवस्थापनका लागि पण्डितले मे२प ८२३ नम्बरको नीलो रङको होन्डा साइन मोटरसाइकल प्रयोग गरेका थिए। उनले शवलाई बोरामा बाँधेर रतुवा खोलाको पुलमुनि फालेका थिए।

हत्यापछि भारत भागे, फर्केपछि डेरामै पक्राउ

खड्काका अनुसार रमाको हत्या गरेपछि पण्डित पक्राउ पर्ने डरले भारततर्फ फरार भएका थिए। घटनाको केही दिन भारतमै बसेका उनी स्थिति साम्य भएको ठानेर २० जेठमा पुनः दमक फर्किएका थिए। उनी आएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले जेठ २१ गते राति करिब ११ बजे उनकै डेराबाट पक्राउ गरेको हो।

एसपी खड्काका अनुसार घटनास्थलको निरीक्षण, सीसीटीभी फुटेजको विश्लेषण, मोबाइलको कल डिटेल र लोकेसन ट्र्याकिङका आधारमा आरोपितसम्म पुग्न प्रहरीलाई सहज भएको थियो। “सुरूमा हत्याको कारण स्पष्ट थिएन, तर मृतकको पहिचान र उनको अन्तिम सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गर्दै जाँदा पण्डितको संलग्नता पुष्टि भयो,” उनी भन्छिन्।

प्रहरीले घटनामा प्रयोग गरिएको मोटरसाइकल र आरोपितले घटनाका बखत लगाएका लुगाहरू समेत बरामद गरेको छ। पक्राउ परेका पण्डितविरुद्ध इलाका प्रहरी कार्यालय दमकले कर्तव्य ज्यान र जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।