काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृंखलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा आज (शनिबार) भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १५४ रनको योगदान दिए। भुर्तेलको शतकसँगै नटआउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेट्टिएको हो। उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन्। आसिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए।
यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा १९५ रन बनाएको थियो। नेपालले एक विकेट गुमाउँदै ३६.४ ओभरमा लक्ष्य पूरा गर्यो। अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई, सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट लिए।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए। उनले ८९ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका हुन्। शेहान जयसुरिया ५२ बलमा एक छक्क प्रदार गर्दै ५० रन बनाएर आउट भएका हुन्।
यो जितसँगै सातौँ स्थानमा रहेको नेपालले २० अंक बनाएको छ। छैटौँ स्थानमा रहेको क्यानडाको २१, पाँचौँ स्थानमा रहेको नामिबियाको २२ अंक छ। खेल तालिकाको अन्तिममा रहेको यूएईले १४ अंक बनाएको छ भने स्कटल्यान्ड ३८ अंकसहित खेल तालिकाको अग्र स्थानमा छ।