भोजपुर। टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ। सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ।
बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका रूपमा रहेको यस सडक ग्रामीण जनजीवनका लागि महत्त्वपूर्ण मानिन्छ। वडाले हरेक वर्ष सडक मर्मत तथा स्तरोन्नतिका कार्यलाई प्राथमिकतामा राख्दै आएको छ। करिब नौ किलोमिटर लम्बाइ रहेको उक्त सडकको विस्तारकार्य २०६५ सालदेखि कच्ची सडकका रूपमा सुरु गरिएको थियो।
प्रारम्भिक चरणमा सामान्य ट्रयाक खोलिएको सडकलाई पछिल्ला वर्षहरूमा क्रमशः स्तरोन्नति गर्दै ग्राभेल, सोलिङ, नाली निर्माण तथा चौडाइ विस्तारजस्ता कार्य गरिँदै आएको छ। यसले गर्दा अहिले सडक अधिकांश समय सवारीसाधन सञ्चालनयोग्य बनेको छ।
उक्त सडकले साविकका वडा नं १ देखि ६ सम्मका बस्तीलाई प्रत्यक्ष रूपमा जोडेको छ। वडासदस्य जीवन राईका अनुसार सडक स्तरोन्नतिपछि गाउँबस्तीका नागरिकले बजार, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य सेवामा सहज पहुँच पाएका छन्। “सडक स्तरोन्नति गरिएपछि आवतजावतमा सहजता छ। यसले दैनिक जीवनमा राहत मिलेको छ”, उनले भने।
वडाध्यक्ष बालचन्द्र राईका अनुसार सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने उद्देश्यले योजनाबद्ध रूपमा काम भइरहेको छ। वर्षायाममा सडक बिग्रिने समस्या बढी हुने भएकाले नाली व्यवस्थापन, पानी निकास, ग्राभेल बिछ्याउने र आवश्यक ठाउँमा सोलिङ गर्ने काम निरन्तर भइरहेको उनले जानकारी दिए। उनका अनुसार आवश्यकताअनुसार सडकका जोखिमयुक्त स्थानमा संरक्षणका संरचना निर्माण गर्ने योजनासमेत अघि बढाइएको छ।
यसअघि वर्षायाममा हिलाम्मे र चिप्लो हुने तथा हिउँद याममा धुलाम्मे हुने समस्याका कारण आवतजावतमा कठिनाइ हुने गरेको थियो। तर पछिल्लो स्तरोन्नतिसँगै यस्ता समस्या क्रमशः घट्दै गएका छन्। सडक सुधारपछि एम्बुलेन्स सेवा सञ्चालनमा सहजतासँगै बिरामीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन सकिने भएको स्थानीयवासी पदम राईले बताए।
त्यसैगरी, कृषि उत्पादन ढुवानीमा समेत सहजता आएको छ। तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बजारसम्म लैजान सहज भएपछि किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ। यातायात पहुँच सुधारसँगै स्थानीय व्यापार–व्यवसाय विस्तार हुने सम्भावना पनि बढेको छ।
स्थानीय तहको निरन्तर लगानी, जनसहभागिता तथा योजना कार्यान्वयनमा देखिएको सक्रियताका कारण सडक पूर्वाधारमा सुधार हुँदै गएको छ। वडाले आगामी दिनमा थप बजेट व्यवस्थापन गरी सडकलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य लिएको छ।