काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

समाज

कर्मकाण्डकै माध्यमबाट छाउपडी र जातीय छुवाछुतविरुद्ध उभिएका बैतडीका पण्डित गणेशप्रसाद पन्त

३१ जेष्ठ २०८३
पण्डित गणेश पन्त। तस्बिरहरू : दीपकजंग शाही
अ+
अ-

सुर्खेत। बैतडीको पाटन नगरपालिका-८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त २७ वर्षदेखि हिन्दु धर्म मान्ने दलित समुदायमा धार्मिक कर्मकाण्ड गर्दै आएका छन्। आफ्नो कामलाई पाण्डित्य मात्र नभई सांस्कृतिक विभेदविरुद्धको अभियान ठान्ने उनी छुवाछुत, छाउपडी र जातीय विभेदलाई धर्मको नाममा टिकाइएको कुरीति मान्छन्।

२१ जेठ २०६३ देखि कानुनी रूपमा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भयो। तर, व्यवहारमा कैयौँ विभेद कायम छन्। सुदूरपश्चिम र कर्णालीका दुर्गम क्षेत्रमा जातीय विभेद अझै गहिरो छ। दलित समुदायका व्यक्तिले छोएको पानी नखाने, भान्सा नछुवाउने र धार्मिक संस्कारमा अलग्याउने प्रचलन सामाजिक रूपमा अझै अस्तित्वमा देखिन्छ। यही सामाजिक यथार्थबीच पन्तले हिन्दु धर्मावलम्बी दलितहरूको बस्तीमा पुगेर सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड गर्दै आएका छन्।

२०४० सालमा जन्मिएका पन्त ज्योतिष र पण्डित कर्मकै पारिवारिक परम्परामा हुर्किए। उनले १६ वर्षको उमेरदेखि वैदिक विधिबाट कर्मकाण्ड गर्न थालेका हुन्। बैतडीमा रहेको बनारसीधाम विश्वनाथ ज्योतिर्लिंगका मूल पुजारीसमेत रहेका उनी अहिले दलित समुदायमा धार्मिक कर्मकाण्ड गराउने पण्डितका रूपमा चिनिन्छन्।

दलित बस्तीमा पुजापाठमा सहभागी पण्डित गणेश पन्त।

पन्तले आफ्नो अभियानअन्तर्गत हालसम्म एक हजार ३७५ जना हिन्दु-दलित समुदायका व्यक्तिलाई जनैधारण गराएका छन्। त्यसैगरी, २९९ हिन्दु-दलित समुदायका महिलालाई ‘दुधागो दोरक’ धारण गराएको उनी बताउँछन्। धर्मग्रन्थमा दलित, महिला वा अरू कसैलाई जातीय तथा लैंगिक रूपमा विभेद गरिएको छैन भन्ने विचारलाई अभिव्यक्त गर्न यसो गरिएको पन्त बताउँछन्। समाजमा कायम छाउपडी प्रथा र जातीय विभेद हटाउन धर्मगुरुको भूमिका महत्त्वपूर्ण हुने उनी ठान्छन्। समाजका कुप्रथा र कुरीति हटाउन धार्मिक अगुवा तयार हुनुपर्ने उनको तर्क छ।

“सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, विवाह, व्रतबन्ध जस्ता कार्य गर्ने प्रचलन छैन। त्यति मात्र होइन, मृत्युसंस्कारमा समेत यहाँ जातीय विभेद भइरहेको छ,” पन्त भन्छन्, “त्यसैले यस्ता कुरीति हटाउने अभियानमा लागेको हुँ। दलितहरूलाई जुन खालको विभेद छ, त्यो मलाई मन पर्दैन।”

दलित बस्तीमा धार्मिक कर्मकाण्ड गरिरहेका पन्त भान्सामा पनि विभेद गर्दैनन्। “यहाँ दलित समुदायभित्रै पनि विभेद छ। एउटा समुदायले अर्को समुदायलाई छुवाछुत गरिरहेको अवस्था छ,” उनी भन्छन्, “त्यसो नगर्न उत्प्रेरणा होस् भनेर धार्मिक कार्यसँगै समुदायमा भोजन गर्ने गरेको छु।”

बिहेमा सहभागी पण्डित गणेश पन्त।

पण्डित पन्तले दलित समुदायमा गरेका धार्मिक कर्मकाण्डको अभिलेख नै राखेका छन्। उनको हिसाबअनुसार हालसम्म उनले ३७ वटा सप्ताह, २३ वटा शिवपुराण, २८७ वटा लघुरुद्राभिषेक र १८१ वटा महारुद्राभिषेक गराएका छन्। न्वारन, व्रतबन्ध, विवाह, सत्यनारायण पूजा, ग्रहशान्ति पूजा, शतचण्डी, अखण्ड रामायणलगायत ४११ भन्दा बढी कर्मकाण्ड उनले दलित बस्तीमा गरेका छन्।

सन्ध्यापूजा गर्दा अहिले पनि अथर्ववेदको उच्चारणपछि ‘यो दलितको वेद हो’ भन्दै भुइँमा पानी खसाल्ने परम्परा छ। उनी त्यसका विरोधी हुन्। त्यसलाई उनी अथर्ववेदको ज्ञान लिएर आधुनिक वस्तु निर्माण गर्ने शिल्पकारप्रति भइरहेको अन्याय मान्छन्। भन्छन्, “अथर्ववेदकै ज्ञानका आधारमा अघि बढेर मोबाइल, रेडियो, टीभी, गाडी र हवाईजहाज बनेका छन्। हामी सबै त्यसको उपभोग गरिरहेका छौँ। तर, त्यही वस्तु निर्माण गर्ने शिल्पकारलाई विभेद भइरहेको छ। यस्ता कुरीति हटाउनैपर्छ।”

पन्तले दलित समुदायमा पुगेर कर्ममार्फत सहयोग गर्न थालेको बाल्यकालदेखि नै हो। कर्मकाण्ड सिकेदेखि नै उनले दलित समुदायमा धार्मिक कार्य गर्दै आएका छन्। आर्थिक रूपमा कमजोर परिवारका लागि सहयोग संकलन गरेर भए पनि उनी धार्मिक कार्य गरिदिन्छन्। “हाम्रा हजुरबुबा, बुबाले पनि विगतदेखि नै दलित समुदायका लागि कर्मकाण्ड चलाउनुहुन्थ्यो,” उनी भन्छन्, “उहाँहरूको उद्देश्य पनि छुवाछुत अन्त्य गर्ने थियो। मैले पनि त्यसलाई निरन्तरता दिएँ।”

कुनै पनि धर्मग्रन्थमा छुवाछुत, विभेद वा अन्य कुप्रथा मान्नुपर्ने कुरा नलेखिएको पन्त बताउँछन्। धर्मसँग सम्बन्धित थुप्रै दस्ताबेज अध्ययनपछि आफ्नो परिवार धार्मिक कर्मकाण्डमा विभेद हुन नहुने निष्कर्षमा पुगेको उनको भनाइ छ। पन्त शास्त्रार्थकेशरी, याज्ञिकसम्राट्, अग्निहोत्री ज्योतिषाचार्य, शुक्लयजुर्वेदाचार्य, वास्तुविद्, पञ्चांगकारलगायत विविध विषयका ज्ञाताका रूपमा परिचित छन्।

गैरदलितको असन्तुष्टि

दलित समुदायमा पुगेर धार्मिक कर्मकाण्ड गर्न थालेपछि पण्डित पन्तलाई गैरदलित समुदायले बोलाउन छाडेका छन्। दलित समुदायमा कर्मकाण्ड सुरु गर्दा नै उनलाई गैरदलित समुदायले त्यसो नगर्न सुझाव दिएका थिए। तर, पन्तले यसलाई आफ्नो अभियानकै रूपमा निरन्तरता दिएपछि गैरदलित समुदाय रिसाएको उनी बताउँछन्।

“मेरा पुर्खाहरूबाट कर्मकाण्ड गराउने ठूल्ठूला घरपरिवार अहिले मसँग रिसाएका छन्। यो कुरीति हटाउन खोज्दा मेरो पुर्खाबाट कर्मकाण्ड गराउने पनि मसँग छुटे,” पन्त भन्छन्, “मलाई यसमा कुनै पछुतो छैन। म आफ्नो अभियान जारी राख्छु।”

उनको हिसाबमा यसैकारण उनका ५७५ जना ‘यजमान’ छुटेका छन्। सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गरेपछि सामाजिक सञ्जालमा आफूलाई तुच्छ गालीगलौजसमेत हुने गरेको गुनासो उनको छ। “मलाई सामाजिक सञ्जालमा गाली र धम्की आउँछ। केही आफन्तले पनि कुरा काट्ने गर्छन्,” उनी भन्छन्। तर, कुनै पनि परिस्थितिमा आफ्नो कर्मबाट विचलित नहुने अठोट पन्तको छ।

कुनै पनि विभेदविना प्रत्येक हिन्दुको घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मठ, शंख-घण्ट र पाञ्चायन देवताहरूको मठ स्थापना गराउने योजना पनि उनको छ। पन्त आफ्नो क्षेत्रमा मात्र होइन, देशका विभिन्न क्षेत्रमा पुगेर पनि कर्मकाण्ड चलाउँछन्।

“धर्मशास्त्रका आधारमा महिला र पुरुष दुई मात्र जात हुन्छन्, अन्य जात हुँदैन,” उनी भन्छन्,“मनुस्मृतिलगायत विभेदकारी ग्रन्थहरूको संशोधन हुनुपर्छ।” सबै धार्मिक क्षेत्रमा सबैका लागि समावेशी पूजापाठ हुनुपर्ने पक्षमा उनी छन्।

हिन्दु-दलितको सराहना

दलित समुदायमा पुगेर धार्मिक कर्मकाण्ड चलाउने पन्तको अभियानबाट गैरदलितहरू रिसाए पनि हिन्दु धर्मावलम्बी दलित समुदाय खुसी भएको पन्तको दाबी छ। हजुरबुबाको पालादेखिका कतिपय ‘यजमान’ छुटे पनि दलित समुदायका यजमानहरू देशभर थपिँदै गएको उनी बताउँछन्।

बैतडीको पाटन नगरपालिका-८, खोड्पेका लक्ष्मण नेपाली पन्तको कामले हिन्दु धर्म मान्ने दलित समुदायलाई धार्मिक कर्मकाण्ड गर्न सहज भएको बताउँछन्। लक्ष्मणको घरमा पनि पन्तले श्राद्धकार्य गरेका थिए। अहिले पनि कुनै धार्मिक कर्मकाण्ड गर्नुपरे उनको परिवारले पन्तलाई नै सम्झन्छ। “उहाँको कामले हामीलाई सहज भएको छ। धार्मिक कार्य गर्नुहुन्छ र खाना पनि हामीसँगै खानुहुन्छ,” लक्ष्मण भन्छन्, “त्यसो गर्दा कतिपयले कुरा काट्छन्, हामीलाई नराम्रो लाग्छ।”

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ का सिबी लुहार पनि पन्तको कामको खुलेर प्रशंसा गर्छन्। छुवाछुत अन्त्यका लागि धर्मगुरुका रूपमा पन्तले उल्लेखनीय भूमिका खेलेको उनी बताउँछन्।

“संविधान र कानुनमा नभएको छुवाछुत समुदायमा अहिले पनि कायमै छ,” लुहार भन्छन्, “यसको अन्त्य गर्न जिम्मेवार निकायमा भएकाहरूले भूमिका नखेलेको अवस्थामा उहाँले गरेको यो कार्य सराहनीय छ।”