काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलमा नेपाल र गणतन्त्र कोरियाबीच स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको छ।
मन्त्रालयमा मंगलबार मन्त्री मेहता र नेपालका लागि कोरियाका राजदूत तायोङ पार्कबीच शिष्टाचार भेट भएको छ। भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यका विविध विषयमा विचार आदानप्रदान गरिएको मन्त्रालयले जनाएको छ।
छलफलमा स्वास्थ्य बिमा कार्यक्रमको सुदृढीकरण, स्वास्थ्य जनशक्तिको क्षमता विकास, स्वास्थ्य पूर्वाधार विस्तार, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य पर्यटन प्रवर्द्धनका विषयलाई प्राथमिकतामा राखिएको थियो। साथै जडीबुटी तथा औषधि उत्पादनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच सहमति खोजिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।
भेटका क्रममा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन राजदूत पार्कसमक्ष आग्रह गरेकी थिइन्।
जवाफमा राजदूत पार्कले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे।
