काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधिसभा

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं’

३ असार २०८३
खड्गराज पौडेल।
अ+
अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खड्गराज पौडेल (गनेस) ले सबै जिल्लाका दलित परिवारलाई घरबास (होमस्टे) मार्फत सामाजिक अन्तरघुलन गराइने बताएका छन्।

विनियोजन विधेयक, २०८३ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको आज (बुधबार) प्रतिनिधिसभामा जवाफ दिँदै उनले विगत वर्षमा भन्दा आगामी आवमा पर्यटन र संस्कृति क्षेत्रमा बजेट बढेको बताए।

“बजेटले विकास सँगसँगै असमानताको अन्त्य गर्नुपर्छ भन्न सोच र धारणा बोकेको हुन्छ‚” उनले भने, “सामाजिक असमनताको अन्त्य गर्ने ध्येय राखेर हामीले मुलुकभरका ७७ वटै जिल्लामा एउटा-एउटा दलित होमस्टे सञ्चालनमा ल्याउने कार्यक्रम समावेश गरेका छौँ।” उनले दलित होमस्टेले अन्य समुदाय र दलितबीच सामाजिक अन्तरघुलन गराउनसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बताए।

सरकारी निकायले दलित होमस्टेमा अनिवार्य रूपमा कार्यक्रम गर्नुपर्ने व्यवस्था पनि मिलाएको उनले बताए। “पर्यटन मन्त्रालयसँग बजेट तथा कार्यक्रम माग गर्नेको सङ्ख्या उच्च छ। यही मन्त्रालयबाटै मुलुकको उन्नति र समुन्नति हुने आशा गरेकाले पनि धेरै अपेक्षा र चाहाना देखिएको हो‚” उनले थप भने, “यो मन्त्रालय सधैँ उपेक्षामा परेको थियो। सबैका योजना र सबैलाई समेट्ने गरी बजेट ल्याउन निकै कठिन र दुःख हुने गर्छ। यथापि हामीले त्यो काम फत्ते गरेर अघि बढेका छौँ।”

उनले लुम्बिनी क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोषमा आन्तरिक रूपमै बजेट हुने भएकाले पनि मन्त्रालयले ती कोषमा बजेट विनियोजन नभएको स्पष्टीकरण दिए। मन्त्री पौडेलले समुदायगतमा बजेट विनियोजनमा कुनै पनि विभेद नगरिएको दाबी गरे। उनले बहुजातीय र बहुधार्मिक परम्परा र संस्कृति संरक्षणका लागि एकमुष्ट बजेट विनियोजन गरेको दाबी गरे।

सरकारले पदमार्ग र सांस्कृतिक र ऐतिहासिक सम्पदा संरक्षणका लागि करिब ८२ करोडभन्दा धेरै बजेट विनियोजन गरिएको उनले बताए। “यहाँहरूले पर्यटन मन्त्रालयसँग ६४ अर्ब रुपैयाँको बजेट माग गर्नुभएको थियो। हामीले समारिक महत्त्व बोकेका क्षेत्रमा मात्रै एकमुष्ट बजेट विनियोजन गरेका छौँ‚” उनले भने, “दुईदेखि पाँच लाखबाट बजेट निर्माणका लागि भन्दा पनि अध्ययनका लागि बजेट विनियोजन भएको हो।”

मन्त्री पौडेलले संस्कृति र पर्यटन मन्त्रालय मातहत रहेका ११ थरिका पुरस्कार वितरण प्रणालीलाई पनि व्यवस्थित गराउन खोजेको पनि बताए। “पुरस्कारलाई व्यवस्थित गराउन खोजेका छौँ‚” उनले भने, “पुरस्कार वितरणका लागि व्यवस्थित कार्यविधि बनाउने योजना पनि छ।” उनले आगामी आवको बजेटमा मुलुकका लागि ठूलो योगदान पुर्‍याएका व्यक्तिको निवास पर्यटकीय र अन्य कारणले पनि विशेष महत्त्व राख्ने भएकाले संरक्षण र प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको प्रस्टीकरण दिए।

मन्त्री पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कर्णाली र सुदूरपश्चिम भ्रमण गर्न शैक्षिक भ्रमणमा अनुदान दिने व्यवस्था गर्न खाजेको पनि बताए। “यी दुई प्रदेशको पर्यटन क्षेत्रको विकास र सरंक्षण र प्रवर्द्धनका लागि गरिएको हो‚” उनले भने। आगामी आवको बजेटमा मन्त्रालयले विमानस्थलका लागि भन्दा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘डेडिकेटेड’ रूपमा बजेट विनियोजन गर्ने उनले जानकारी गराए।

सरकारले रैथाने पशुपक्षीलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति लिएको पनि मन्त्री पौडेलले जानकारी दिए। उनले नेपालको हवाई क्षेत्रमा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मार्फत सुधारको काम गर्ने दाबी गरे। “क्यान एउटा स्वायत्त संस्थाका रूपमा छ। यसले नेपालका विभिन्न विमानस्थलको व्यवस्थापन र निर्माणको काम गर्दै आइरहेको छ‚” उनले भने, “मन्त्रालयले केही विमानस्थल आयोजना विशेषका लागि मात्रै बजेट विनियोजन गरेको हो। सबै विमानस्थलका लागि भने त क्यानमार्फत हुने गर्दछ।” उनले कोस प्रदेशको पुरातात्त्विक सम्पदा संरक्षण र प्रवर्द्धनका लागि एक करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि बताए।