काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, उजुरी सुनुवाइ तथा श्रमिक संरक्षणका गतिविधिलाई तीव्र बनाउँदै वैदेशिक रोजगार विभागले विभिन्न कानुनी तथा प्रशासनिक कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।
विभागले असार ३ गतेसम्मको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै सो दिन मात्र मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएको जानकारी दिएको छ ।
उजुरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा २८ वटा पक्राउ पुर्जी जारी गरिएको र ९ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित प्रक्रियामा उपस्थित गराइएको विभागले जनाएको छ । त्यस्तै, ९ वटा विवाद आपसी सहमतिमा टुंग्याइएको छ ।
विभागका अनुसार अनुसन्धान र प्रशासनिक प्रक्रियासँग सम्बन्धित बैंक पत्राचार, अभियोगपत्र तथा राय पत्रलगायत गरी ६८ वटा आधिकारिक पत्रसमेत सोही दिन प्रेषण गरिएको थियो ।
संस्था अनुगमन शाखाले वैदेशिक रोजगार व्यवसायी संस्थाहरूसँग सम्बन्धित पाँच वटा पत्राचार गरेको छ भने १६ वटा राहदानी वितरण गरिएको जनाएको छ ।
उता, राहत, उद्धार तथा समन्वय शाखामार्फत ६ जना श्रमिकको उद्धार गरिएको छ । सोही अवधिमा दुई जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागको विवरणमा उल्लेख छ । शाखाले १० वटा नयाँ उजुरी दर्ता गर्नुका साथै १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा सञ्चालन गरेको जनाएको छ ।
गुनासो व्यवस्थापनतर्फ ‘हेलो सरकार’ प्रणालीमार्फत प्राप्त ११ वटा गुनासोमध्ये ९ वटाको समाधान गरिएको छ । विभागको कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा फर्छ्योट भइसकेका छन् भने बाँकीमाथि प्रक्रिया अघि बढाइएको छ ।
विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित राहत तथा उद्धारका विषयमा प्राप्त हुने निवेदनलाई थप प्रभावकारी बनाउन आवश्यक कागजात र आधिकारिक पत्रसहित विवरण पठाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । यसरी व्यवस्थित ढंगले सूचना प्राप्त हुँदा उद्धार तथा सहायता कार्यलाई छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने विभागको भनाइ छ ।