काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

व्यापार

नेपाली चियाको प्रमुख गन्तव्य भारतले नयाँ नीति लागु गरेसँगै इलाम र झापाका उद्योग बन्द

४ असार २०८३
इलामको सूर्योदय नगरपालिका–४ मेची बजारका किसान चिया टिप्दै । तस्बिर : मनोज अधिकारी/रासस
अ+
अ-

विराटनगर। इलामको सूर्योदय नगरपालिका-७, बोगनेका श्यामकृष्ण कटुवालको १७ रोपनी चियाबारीमा अहिले हरियाली छ। वर्षा बढेसँगै चियाका मुना लहलह छन्।

यस सिजनमा बारीमा छिर्दा अघिल्ला वर्षहरूमा उनी खुसीले गदगद हुन्थे। हरियालीको आनन्दसँगै खर्च कटाएर वार्षिक चारदेखि पाँच लाख रुपैयाँ आम्दानी हुने सुनिश्चितता पनि हुन्थ्यो। तर, यस वर्ष चियाबारीको हरियाली देख्दा पनि मन कटक्क खान थालेको छ।

“तीन दिन भयो हरियो पत्ती टिप्न छाडेको,” कटुवाल भन्छन्, “फ्याक्ट्री नै बन्द भएपछि पत्ती टिपेर कहाँ लैजानु? मुख्य सिजनको चिया बारीमै खेर जाने भो।” उनको अनुभवमा यो बेला चियाको उत्पादन धेरै हुनुको साथै गुणस्तर पनि अब्बल हुन्छ। त्यसैअनुसार मूल्य पनि राम्रो आउँथ्यो।

“यस सिजनमा टिपेको हरियो पत्ती किलोको ४० देखि ६० रुपैयाँसम्म मूल्य पर्थ्यो,” उनी भन्छन्। तर, भारतले १ मे २०२६ देखि नेपालबाट निर्यात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागु गरेसँगै मुना बारीमै बुढिने पीरमा छन् उनी। नयाँ एसओपीमा प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने हुन्छ।

यस्तो व्यवस्थाका कारण श्यामकृष्ण मात्र होइनन्, सूर्योदय नगरपालिका-७ का डम्बर कटुवाल पनि उस्तै पीरमा छन्। ४० रोपनीमा फैलिएको चियाबारीको डिलमा उभिएर उनी भन्छन्, “लगानी नै खेर जाने भो। यसपालि त ठूलै हैरानी खेप्नुपर्ने देखियो।” अर्का किसान चिरञ्जीवी पौडेल पनि २० रोपनी बारीमा चियाका मुना छिप्पिँदै जाँदा बेचैन छन्।

इलामको चिया बगान। तस्बिर : सामाजिक सञ्जाल

इलाम जिल्लाभरका करिब ४८ सय किसान यतिबेला यस्तै छटपटीमा छन्, जसमध्ये २२ सयभन्दा बढी किसान सूर्योदय नगरपालिकाका छन्।

प्रशोधन ठप्प

नेपाली चियाको मुख्य निर्यात गन्तव्य भारतले पछिल्लो समय गरेको नीतिगत परिवर्तनका कारण उद्योगीहरूले चिया प्रशोधन ठप्प पारेका छन्। इलामका ७३ वटा अर्थोडक्स चिया उद्योग १ असारबाट बन्द भइसकेका छन्।

सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन, इलामका उपाध्यक्ष ज्ञानी लिम्बूका अनुसार दैनिक करोडौँ केजी हरियो पत्ती उत्पादन हुने क्षेत्र अहिले सुनसानप्रायः छ। “चिया क्षेत्रमा करिब ६५ हजार मानिसको रोजगारी जोडिएको छ,” उनी भन्छन्, “उद्योग बन्द भएपछि किसान, मजदुर र उद्योगी सबैको चुलो निभ्ने अवस्था आएको छ।”

झापाका चिया उद्योगीहरूले पनि ३ असारमा पत्रकार सम्मेलन गर्दै ४ असारबाट झापाका ३६ वटा सीटीसी चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द गरिने घोषणा गरेका छन्।

झापामा चिया उद्योग बन्द गर्नेबारे पत्रकार सम्मेलन गर्दै उद्योगीहरू। तस्बिर : सामाजिक सञ्जाल

भारतले लागु गरेको नयाँ मापदण्डका कारण नेपाली चिया सहज रूपमा निर्यात गर्न नसकिएको नेपाल चिया उत्पादक संघ, झापाका महासचिव शुक्र दाहाल बताउँछन्। “समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ। चिया क्षेत्र जोगाउन तत्काल कूटनीतिक र नीतिगत पहल आवश्यक छ,” उनी भन्छन्।

भारतले गरेको नीतिगत निर्णयका कारण तयारी चिया बिक्री नहुँदा गोदाम भरिएर नयाँ उत्पादन राख्ने ठाउँ नभएपछि उद्योगीहरूले हात उठाएका हुन्। जसको प्रत्यक्ष मार अहिले किसानलाई परेको छ।

नियत कि नियम?

भारतीय चिया बोर्डले नेपाली चिया भारत प्रवेश गरेपछि गोदाममा राखी नमुना संकलन गरिने र प्रयोगशालाको प्रतिवेदन नआएसम्म बिक्री गर्न नदिने नयाँ नियम कडाइका साथ लागु गरेको छ। “पहिले नाकामै रोक्ने गरिन्थ्यो, अहिले भारत पुगेपछि गोदाममा लगेर थुनिन्छ,” चिया उद्योगी ज्ञानी लिम्बू भन्छन्, “यहाँबाट चिया कोलकाता पुगेको १० दिनपछि मात्र नमुना लिन्छन्। त्यसको रिपोर्ट आउन थप २० दिन लाग्छ। कतिपयको त महिना दिनसम्म पनि रिपोर्ट आएको छैन।”

रिपोर्ट नआउँदासम्म चिया बेच्न पाइँदैन। त्यसो हुँदा उद्योगीहरूले किसानलाई भुक्तानी दिन र नयाँ पत्ती खरिद गर्न सक्ने अवस्था नरहेको उनी बताउँछन्।

सरकार पनि यो समस्याबारे बेखबर छैन, तर समाधानमा उदासीन देखिएका उद्योगीहरूको गुनासो छ। उद्योगी दिनेश अग्रवाल भन्छन्, “सरकारले चिया क्षेत्रलाई किन प्राथमिकतामा नराखेको हो कि के हो, कुरै बुझ्न सकिएन।”

चिया उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएका सूर्योदयका चिया उद्योगीहरू। तस्बिर : सामाजिक सञ्जाल

अहिले इलामका गोदामहरूमा मात्रै करिब दुई लाख ५० हजार किलो तयारी अर्थोडक्स चिया थन्किएको छ। सीटीसीसमेत जोड्दा परिमाण तीन लाख किलो नाघ्छ। देशभरका उद्योगमा गरी करिब १५ लाख किलो चिया बिक्रीविहीन अवस्थामा रहेको उद्योगीहरूको अनुमान छ। चिया उद्योगी आदित्य पराजुली भन्छन्, “यो तथ्यांक मात्र होइन, यसमा किसानको पसिना, मजदुरको ज्याला र उद्योगीको करोडौँ ऋण जोडिएको छ।”

खोसिएको रोजीरोटी

चिया खेतीमा समयको महत्त्व निकै हुन्छ। ‘दुई पात एक सुई’ को गुणस्तर कायम राख्न ठिक समयमा टिपिनुपर्छ। केही दिन ढिलो हुनासाथ पत्ती बुढो हुन्छ र गुणस्तर घट्छ। “पानी परेर चिया झन् राम्रो भएको थियो, तर टिप्न नपाएपछि त्यो घाँससरह हुने भयो,” सूर्योदयका किसान श्याम कृष्ण कटुवाल भन्छन्।

यस्तो परिस्थितिले मजदुरहरूलाई पनि उत्तिकै पीडा दिएको छ। चिया टिप्ने, बोक्ने र प्रशोधन गर्ने हजारौँ श्रमिकको जीवन दैनिक ज्यालामा टिकेको छ। उद्योग बन्द भएसँगै उनीहरूको छाक पनि संकटमा परेको छ। मजदुर नेता भरत राईका अनुसार चिया क्षेत्रसँग प्रत्यक्ष-अप्रत्यक्ष जोडिएका ६५ हजार रोजगारी अहिले धरापमा परेको छ। उनी भन्छन्, “धेरै मजदुरको घरमा साँझको चुलो ज्यालाले बल्छ, जुन अहिले निभ्ने तरखरमा छ।”

संसद्‌मा आवाज

चिया उद्योगमा देखिएका संकटबारे प्रतिनिधिसभामा पनि कुरा उठ्न थालेको छ। ३ असारमा इलामका सांसद निस्कल राईले सरकारको ध्यानाकर्षण गराउँदै भने, “भारतले गुणस्तर परीक्षणका नाममा जटिलता थपेर नेपाली चियालाई सिध्याउन खोज्दै छ। सरकार भने कूटनीतिक पहल गर्न छाडेर रमिता हेरिरहेको छ।” उनले चियाको पत्ती बारीमै खेर गइरहेको र उद्योगीहरू बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै तत्कालै कूटनीतिक पहल गर्न माग गरेका छन्।

सांसद निश्कल राई। तस्बिर : किरणराज विष्ट/रासस

नेपालमा हाल २० हजार ६०२ हेक्टरमा चिया खेती हुन्छ। देशभर १२० वटा साना-ठूला उद्योग छन्। नेपालको अर्थोडक्स चियाको ९० प्रतिशत र सीटीसीको ५० प्रतिशत बजार भारत नै हो। गत वर्ष मात्रै नेपालले चिया निर्यातबाट चार अर्ब ७५ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको थियो। वार्षिक करिब १४ अर्ब रुपैयाँको कारोबार हुने यस क्षेत्रबाट राज्यले एक अर्ब रुपैयाँ राजस्व संकलन गर्दै आएको छ।

तर, पछिल्लो परिस्थितिले नेपाली चिया निर्यात बजारको विकल्प सोच्न सरोकारवालालाई झकझक्याएको छ। नेपाल चिया उत्पादक संघ झापाका महासचिव शुक्र दाहाल यसमा भारतीय निर्भरता मात्रै घातक सावित भएको बताउँछन्। “दीर्घकालीन रूपमा हेर्ने हो भने भारतको मात्र मुख ताक्नु हुँदैन। बाङ्लादेश र पाकिस्तान जस्ता तेस्रो मुलुकमा बजार विस्तार गर्न सरकारले पहल गर्नुपर्छ,” उनी भन्छन्, “तत्कालका लागि भने भारतीय अवरोध नहटेसम्म उद्योग चलाउन असम्भव भयो।”