काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

शिक्षा

एमबीबीएसमा कन्सल्टेन्सीमार्फत विदेशी विद्यार्थी भर्ना

४ असार २०८३
काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजले २६ फागुन २०८२ मा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थी। तस्बिरहरू : केयू
अ+
अ-

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ मेडिकल साइन्सेजले चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस)मा पहिलो पटक शतप्रतिशत विदेशी विद्यार्थी भर्ना पाएको छ। सिट क्षमताअनुसार भर्नादर पुर्‍याउन कन्सल्टेन्सीसँग सहकार्य गर्न थालेपछि विदेशी विद्यार्थीको सिटमा शतप्रतिशत भर्ना पाएको हो।

केयू स्कुल अफ मेडिकल साइन्सेजका डिन प्रा.डा. मनोज हुमागाईंका अनुसार विगतमा एउटा ब्याचमा तीनचार जनादेखि बढीमा १८ जनासम्म मात्रै विदेशी विद्यार्थी भर्ना हुन्थे। “यसपालि पहिलो पटक कोटा पूरा भयो,” उनी भन्छन्।

केयू स्कुल अफ मेडिकल साइन्सेजमा एमबीबीएस अध्ययनका लागि हरेक शैक्षिक सत्रमा १३० जनाको कोटा छ, जसमा विदेशी विद्यार्थीका लागि ४३ सिट छुट्याइएको छ। चालु शैक्षिक सत्र २०२६ मा ४३ वटै कोटामा विद्यार्थी भर्ना भएका छन्। यसअघिका वर्षमा विदेशी विद्यार्थी कम आउँदा नेपाली विद्यार्थीबाटै सिट पूरा गर्ने गरिन्थ्यो। चालु शैक्षिक सत्र २०२६ मा विदेशी विद्यार्थीलाई एमबीबीएसको शुल्क ७५ हजार अमेरिकी डलर तोकिएको छ।

अभिमुखीकरण कार्यक्रमका सहभागीहरू।

केयूले चिकित्सा विज्ञानअन्तर्गत एमबीबीएस कोर्स सन् १९९४ मा सुरु गरेको थियो। सन् २००१ देखि भने आफ्नै आंगिक क्याम्पस धुलिखेल अस्पतालबाट पठनपाठन सञ्चालन गर्दै आएको छ। हुमागाईंका अनुसार विदेशी विद्यार्थीलाई नेपालमा उच्च शिक्षा अध्ययनका लागि आकर्षण गर्नु केयूको नीति रहँदै आएको भए पनि एमबीबीएसमा सिट क्षमताअनुसार भर्ना भइरहेका थिएनन्। अपेक्षित संख्यामा विद्यार्थी नपाएपछि चालु शैक्षिक सत्रदेखि कन्सल्टेन्सीमार्फत विद्यार्थी आकर्षण गर्न थालेको हो।

यसका लागि केयूले आशयपत्र खुलाउँदा तीन वटा कन्सल्टेन्सीले आवेदन दिएका थिए। जसमध्ये एउटा कन्सल्टेन्सी छनोट गरेर केयूले विदेशी विद्यार्थी जुटाउने जिम्मा दिएको छ। “एमबीबीएसतर्फ यस वर्ष सुरुआत हो, इन्जिनियरिङलगायत अरू कोर्समा पहिलेदेखि नै अभ्यास हुँदै आएको छ,” हुमागाईं भन्छन्। विदेशी विद्यार्थी जुटाएबापत कन्सल्टेन्सीले केयूबाट सेवा शुल्क पाउँछ। विद्यार्थीबाट भने शुल्क लिन पाउँदैन।

केयू र कन्सल्टेन्सीबीच भएको सहमतिअनुसार कन्सल्टेन्सीले हरेक शैक्षिक सत्रमा पूरै कोटामा विदेशी विद्यार्थी जुटाउनुपर्छ। सिट क्षमताअनुसार विद्यार्थी संख्या नपुगेमा कन्सल्टेन्सीले पाउने सेवा शुल्क दर घट्छ।

कन्सल्टेन्सीमार्फत विद्यार्थी भर्ना गर्ने नीति लिए पनि केयूले शैक्षिक योग्यता (मेरिट)का आधारमा भर्ना लिन्छ। यसका लागि हरेक शैक्षिक सत्रका लागि पढाइ शुल्कसहितको मापदण्ड तोकेर विद्यार्थी भर्ना खोलिने डिन हुमागाईं बताउँछन्।

आवेदन दिएका विद्यार्थीको मेरिटकै आधारमा कन्सल्टेन्सीले पहिलो चरणको छनोट गर्छ। त्यसबाट छनोट हुनेले चिकित्सा सेवा आयोगको प्रवेश परीक्षामा सहभागी हुनुपर्छ। त्यसबाट उत्तीर्ण हुनेले मात्रै केयूको एमबीबीएस कोर्समा भर्ना पाउँछन्। भारतको नेसनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट (निट)मा उत्तीर्ण भएकाहरूले भने त्यहाँ उत्तीर्ण हुँदा पाएको अंकअनुसार सिधै चिकित्सा आयोगको छनोट चरणमा प्रवेश पाउँछन्।

केयूमा भर्ना भएका विदेशी विद्यार्थीमध्ये झन्डै ९५ प्रतिशत भारतीय छन्। भारतको निटमा उत्तीर्ण भएकाहरूले सिधै नेपालमा एमबीबीएस अध्ययनका लागि आवेदन दिन पाउने भएकाले यो आकर्षण देखिएको हो। भारतीय विद्यार्थीले निटमा पाएको अंकअनुसार क्रम निर्धारण गरेर आयोगले सिटअनुसार म्याचिङ गर्छ। मेरिट लिस्टमा अगाडि भएकालाई पहिलो प्राथमिकतामा दिने गरिन्छ।

काठमाडौँ युनभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज।

यस्तै, नेपाल र भारतको रहनसहन, संस्कृति धेरै हदसम्म समान भएको र आउजाउमा सहज भएकाले पनि भारतीय विद्यार्थीको आकर्षण देखिएको हुमागाईं बताउँछन्। “भारत र नेपालमा देखिने रोगको प्रकृति पनि उस्तै उस्तै हुने भएकाले पढ्न र काम गर्न सहज हुने मानेर आउँछन्,” उनी भन्छन्, “जागिरलगायत अरू अवसरमा नेपालमा पढेका विदेशी विद्यार्थीको उत्तीर्ण दर राम्रो रहेको अभिभावक र विद्यार्थीले सुनाउने गरेका छन्।”

विगतमा श्रीलंकाका विद्यार्थी पनि एमबीबीएस पढ्न आउने गरेकामा विभिन्न चरणको प्रवेश परीक्षाका लागि आउजाउ गर्न कठिनाइ भएको भन्दै भर्ना हुन छाडेको हुमागाईं बताउँछन्। कन्सल्टेन्सीमार्फत विद्यार्थी पाउन सजिलो भएकाले केयूका अरू विभागले पनि यो अभ्यास लागु गर्ने सोच बनाइरहेका छन्।

केयूले सञ्चालन गर्दै आएको एमबीबीएस साढे पाँचवर्षे कोर्स हो। जसमध्ये दुईवर्षे प्रि-क्लिनिकल र अढाइवर्षे क्लिनिकल पढाइ हुन्छ भने एक वर्ष अनिवार्य आवासीय इन्टर्नसिप गर्नुपर्छ।

केयू स्कुल अफ मेडिकल साइन्सेजबाट सन् २०२१ सम्म १२ हजार १४४ जनाले एमबीबीएस उत्तीर्ण गरेका छन्।