जेनेभा । मध्यपूर्व युद्ध रोक्ने अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई कायम राख्न र संवाद जारी राख्नका लागि शनिबार स्विट्जरल्यान्डको एक रिसोर्टमा विभिन्न देशका कूटनीतिज्ञहरूको बैठक बसेको छ।
स्विस विदेश मन्त्रालयले जेनेभाबाट बताएअनुसार लुसेर्न नजिकैको विलासी बुरगेनस्टक रिसोर्टमा कूटनीतिज्ञहरूबीच छलफल भइरहेको छ । थप विवरण भने दिइएको छैन।
एक कूटनीतिक स्रोतले एएफपीलाई बताएअनुसार शनिबार भइरहेका छलफलहरू तयारी स्वरूपका छन्।
यो होटलमा उच्चस्तरीय वार्ता सुरुमा शुक्रबारका लागि तय थियो तर एक्कासी स्थगित गरिएको थियो। इजरायलले दक्षिणी लेबनानमा घातक हमला गरेपछि यो प्रक्रिया अनिश्चिततामा परेको छ।
स्विस सार्वजनिक प्रसारक आरटीएसका अनुसार अमेरिका र इरानका प्राविधिक प्रतिनिधिमण्डल तथा मध्यस्थकर्ता कतार र पाकिस्तानका प्रतिनिधिहरू बैठकमा उपस्थित छन्।
“स्विट्जरल्यान्डले अमेरिका र इरानबीचको समझदारीको कार्यान्वयनका लागि बुरगेनस्टकमा गोप्य र विश्वसनीय वातावरण उपलब्ध गराइरहेको छ”, विदेश मन्त्रालयद्वारा जारी संक्षिप्त विज्ञप्तिमा उल्लेख छ, “विभिन्न देशका कूटनीतिज्ञहरूले हाल संवाद कायम राख्न प्रयास गरिरहेका छन्।”
उपस्थित व्यक्ति र छलफलका विषयबारे थप जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छैन।
इजरायली हमला
शनिबार इजरायलले दक्षिणी लेबनानमा घातक हवाई हमला गरेको छ भने हिजबुल्लाहले जवाफ दिने अधिकार रहेको बताएको छ। यसअघि अमेरिकाले इरानसँगको नयाँ सम्झौतालाई तनावमा पारेको द्वन्द्वलाई रोक्न युद्धविरामको घोषणा गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले यो हप्ता युद्धका सबै मोर्चाहरू ९लेबनानसहित० रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए। तर लेबनानमा नयाँ लडाइँ बढेपछि बुरगेनस्टकमा शुक्रबारका लागि तय भएको पछिल्लो वार्ता अनिश्चितकालका लागि स्थगित गरिएको थियो।