विराटनगर। सुधार गृह पठाउने तयारी गरिएका एक युवकले चक्कु प्रहार गर्दा विराटनगरमा प्रहरीसहित तीनजना सख्त घाइते भएका छन्।
विराटनगर महानगरपालिका १, ठूलो मिल दक्षिणस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन्।
रामेछाप स्थायी घर भई विगत १५ वर्षदेखि विराटनगरमा आमासँग बस्दै आएका कार्की लागूऔषध दुर्व्यसनी रहेको प्रहरीले जनाएको छ।

कोठामै बसिरहने र लागूऔषध प्रयोग गर्ने गरेका उनलाई आइतबार दिउँसो करिब साढे ३ बजे काठमाडौँस्थित ‘साथीभाइ नेपाल सुधार गृह’ पठाउने तयारी भइरहेको थियो। सोही क्रममा उनले आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरेपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन्।
सूचना पाउनासाथ सीआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। सुधार गृहका प्रतिनिधि, आफन्त र प्रहरीले कोठाभित्र रहेका कार्कीलाई सम्झाइ-बुझाई गर्ने प्रयास गरिरहेका थिए। तर, उनले अचानक आफ्नो ओछ्यानमा लुकाएर राखेको चक्कु निकालेर आक्रमण सुरु गरे।
कार्कीको प्रहारबाट सीआरभी भट्टाचोकका प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाइते तीनै जनाको टाउकोमा चोट लागेको छ। उनीहरूको अहिले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

भर्याङको सहायताले नियन्त्रण
आक्रमणपछि युवकले पुनः कोठाभित्र आफू थुनिएर बसेका थिए। हतियारसहित कोठाभित्र लुकेका उनलाई नियन्त्रणमा लिन प्रहरीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो। ढोका खोल्न अस्वीकार गरेपछि प्रहरीले स्टिलको भर्याङ प्रयोग गरी झ्यालबाट भित्र पसेर उनलाई नियन्त्रणमा लिएको थियो।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी सन्तोष श्रेष्ठ र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बेनु कार्कीको नेतृत्वमा थप टोली घटनास्थल पुगेको थियो।
डीएसपी मिश्रका अनुसार पक्राउ परेका कार्कीलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।