काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

ठेकेदारको लापरबाही

सास्तीको पासोमा कटहरीको सडक

८ असार २०८३
मोरङको कटहरी २ स्थित आदर्शनगरअगाडि २४ घण्टादेखि फसेका मालवाहक ट्रक। तस्बिरहरू : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। मकै लोड गरी हिँडेको ना.१क ८३९३ नम्बरको ट्रक आइतबार राति १० बजे मोरङको कटहरी २ स्थित आदर्शनगर आइपुग्दा एकाएक रोकियो। रोकियो मात्र होइन, सडकको बीचमा रहेको एउटा ठूलो दलदलमा ट्रक भासियो।

चालक श्याम राउतले रातभर अनेक प्रयास गरे तर ट्रक निस्किएन। सोमबार दिउँसो ३ बजिसक्दा पनि सोही ठाउँमा अर्को एउटा मालवाहक ट्रक र इँटा बोकेको ट्याक्टर पनि फसेपछि यो खण्ड अस्तव्यस्त बनेको छ।

यो कुनै विकट पहाडको कथा होइन, कोसी प्रदेशको राजधानी विराटनगरसँगै जोडिएको कटहरी-रंगेली खण्डको वास्तविक तस्बिर हो। हुलाकी राजमार्गअन्तर्गत पर्ने यो सडकको पाँच किलोमिटर खण्ड विगत ६ वर्षदेखि स्थानीयका लागि ‘सास्तीको पासो’ बनेको छ।

मोरङको कटहरी २ स्थित आदर्शनगरअगाडि २४ घण्टादेखि फसेको मालवाहक ट्रक।

“रातभर ट्रक कुरेर बसें। न स्काभेटर (जेसीबी) ले तानेर निस्कियो। न त अर्को ट्रकले नै तान्न सक्यो,” चालक राउतले पीडा सुनाउँदै भने, “कम्तीमा फसेको ठाउँमा केही भरौट (ढुंगा-गिटी) मात्र हालिदिएको भए हामीले यो हविगत भोग्नुपर्ने थिएन।” अहिले पनि यो सडकमा अन्य दुईवटा सवारीसाधन भासिएका छन्। चालकहरूको निकाल्ने प्रयास जारी छ।

अलपत्र ६ वर्ष
हुलाकी सडक निर्देशनालय इटहरीका अनुसार यो खण्ड निर्माणका लागि २०७६ सालमा ७६ करोड रुपैयाँमा श्रेष्ठ कन्स्ट्रक्सनले ठेक्का पाएको थियो। तर निर्माण कम्पनीको लापरबाहीले ६ वर्षमा जम्मा २७ प्रतिशत मात्र काम सकियो। समयमा काम नसकेपछि सरकारले २०८२ पुसमा ठेकेदारलाई कालोसूचीमा राख्दै ठेक्का रद्द गर्‍यो। ठेक्का रद्द भएको ६ महिना बितिसक्दा पनि नयाँ ठेक्का लाग्न सकेको छैन। जसको मारमा दैनिक हजारौँ यात्रु र गाडीका चालक परिरहेका छन्।

हुलाकी राजमार्ग निर्देशनालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले अबको केही दिनमा नयाँ ठेक्का प्रक्रिया सुरु हुने बताए। “अबको केही दिनभित्रमा यो सडकको नयाँ ठेक्का प्रक्रिया अगाडि बढ्दै छ,” उनले भने, “यस विषयमा मन्री ज्यूसँग पनि कुराकानी भइसकेको छ। चाँडै ठेक्का लाग्नेछ।”

दिनभरि सडक अवरुद्ध
सडकको दुरावस्थाले दिक्क बनेका स्थानीय बासिन्दाले सोमबार दुई घण्टा चक्काजामसमेत गरे। “हिउँदमा धुलोले सास फेर्न गाह्रो हुन्छ। बर्खा लागेपछि सडक पोखरी बन्छ,” स्थानीय महमद समसुल मियाँले भने, “मेरो मासु पसलअगाडि दैनिक ४-५ वटा गाडी फस्छन्। पैदल हिँड्न पनि सकिँदैन।”

फसेको ट्रक नस्किएपछि बाँस टागेर सडक अवरुद्ध गर्दै चालक तथा सहचालक।

अर्का स्थानीय दिलीप अधिकारीका अनुसार सडक बनाउन दबाब दिन कहिले धान रोपियो त कहिले बाटो बन्द गरियो। राज्यका निकायले सुनेनन्। २४ घण्टाभन्दा बढी समय गाडी फसेपछि स्थानीयले तत्काल ग्राभेल हाल्न माग गर्दै सडक ठप्प पारेका थिए।

कच्ची र हिलाम्मे सडकका कारण यो खण्ड अहिले दुर्घटनाको केन्द्र बनेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्यांक डरलाग्दो छ। आर्थिक वर्ष ०७९/८२ यता मात्रै यही पाँच किलोमिटर सडकमा भएका दुर्घटनामा परी १४ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयले यसलाई ‘मृत्युमार्ग’ को संज्ञा दिन थालेका छन्।

राज्यभन्दा ठेकेदार बलिया : मन्त्री पराजुली
सडकको यो दयनीय अवस्थाले जनप्रतिनिधिहरूलाई समेत जनतामाझ लज्जित बनाएको छ। कोसी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री भीम पराजुलीले निर्माण व्यवसायीको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। “कहिलेकाहीँ त लाग्छ, यी ठेकेदार र निर्माण व्यवसायीहरू राज्यभन्दा पनि ठूला हुन् कि क्या हो ?” कटहरीमा आयोजित एक कार्यक्रममा सोमबार उनले भने, “हामी संघीय सांसद, प्रदेश सांसद र पालिका अध्यक्षहरू पटक-पटक अनशन बस्यौँ। काम अघि बढेन। सडक नबन्दा वडाध्यक्ष र स्थानीय जनप्रतिनिधिले गाली खानुपरेको छ।”

कटहरीको एक कार्यक्रममा सडकको विषयमा गुनासो राख्दै कोसी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री भीम पराजुली।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पनि पुरानो ठेकेदारलाई कारबाही गरेर नयाँ ठेक्का प्रक्रिया अघि बढेको बताए। “यस विषयमा उनले अब ठेक्का प्रक्रिया अघि बढेकाले चाँडै ठेक्का लाग्नेछ,” उनले भने, “कटहरीको यो सडक संघीय सरकारबाट ठेक्का लागेको हो। त्यसैले म यसअघि पनि काठमाडौँ पूर्वाधार विकास मन्त्रालयमा पुगेर मन्त्री र यस निर्वाचन क्षेत्रका संघीय सांसदसँग पनि कुराकानी भएको छ। अब चाँडै नयाँ ठेक्का लाग्दै छ।”

मोरङको कटहरी २ स्थित आदर्शनगरअगाडि २४ घण्टादेखि फसेको मालवाहक ट्रक।

कटहरी-रंगेली खण्डअन्तर्गत आदर्शनगरमा ट्रक फसेपछि सडक अवरुद्ध गर्दै गाडीका मजदुर।