सुनसरी। सुनसरीको बर्जु गाउँपालिका ६‚ नरहचोकनजिक भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका १ का ५० वर्षीय लालकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। यादव प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) हुन्।
चिमडीतर्फ आउँदै गरेको प्र १-०२-००२ च ६२५२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको प्र १-०१-००३ प २६१२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा यादव सख्त घाइते भएका थिए। घाइते यादवको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको खड्काले जानकारी दिए।
यादवले चलाएको मोटरसाइकलको पछाडि यात्रारत उनकी ४७ वर्षीया पत्नी रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य छ। रामपरीको विराट नर्सिङहोममै उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत यादव जिल्ला प्रहरी कार्यालय सिरहाका लागि रवाना लिएर गएका थिए।
ठक्कर दिने कार र मोरङ कटहरी गाउँपालिका ३ का ५० वर्षीय कार चालक राजेन्द्र चौधरी प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।