चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिबाट शुल्क नलिन निर्देशन दिएका छन्।
महाधिवेशनको अवधि केही लम्बिएको हुँदा प्रतिनिधिहरूले शुल्कबापत बुझाउनुपर्ने पाँच हजार रुपैयाँ अनिवार्य नरहेको लामिछानेले स्पष्ट पारे। साथै शुल्क बुझाइसकेका प्रतिनिधिमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
पार्टीले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई चितवन बसाइका क्रममा खानपिन, आवास वा अन्य व्यवस्थापनसम्बन्धी समस्या परे सम्बन्धित निकायमा सम्पर्क गर्न पनि आग्रह गरेको छ। प्रतिनिधिहरूलाई कुनै प्रकारको असहजता नहोस् भन्ने उद्देश्यले आवश्यक सहजीकरणको व्यवस्था मिलाइएको छ।
चितवनमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चलिरहेको छ। देशभरबाट आएका प्रतिनिधिहरू नेतृत्व चयन, संगठन सुदृढीकरण तथा भावी राजनीतिक कार्यदिशाका विषयमा छलफल गरिरहेका छन्।