काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
अ+
अ-

सुर्खेत। सुर्खेतका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८३/०८४ को वार्षिक बजेट ल्याएका छन्।

संवैधानिक व्यवस्थाअनुसार १० असारभित्र स्थानीय तहहरूले आफ्ना वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्छ। सुर्खेतका नौवटै पालिकाले ल्याएको कुल बजेट नौ अर्ब ७३ करोड ९० लाख ९१ हजार रुपैयाँ छ।

सुर्खेतका नौ पालिकाले प्रस्तुत गरेको बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य‚ खानेपानी, रोजगारी, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवाप्रवाह, आर्थिक समृद्धि, सञ्चार तथा सूचना प्रविधि, युवा तथा महिला सशक्तीकरण, पर्यटन प्रवर्द्धनलगायत उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिएका छन्।

अधिकांश पालिकाले आगामी वर्षका लागि पनि धेरैजसो पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन्। अधिकांश पालिकाले पुँजीगतभन्दा झन्डै दोब्बरले चालुतर्फको खर्च र स्रोत अनुमान पेस गरेका छन्।

चिंगाड गाउँपालिकाको २१औँ नगरसभा।

प्रदेश राजधानी भएको वीरेन्द्रनगर नगरपालिकाले आगामी आवका लागि चार अर्ब ७१ करोड २० लाख ७२ हजार रुपैयाँको आय र व्यय अनुमान गरेको छ। बुधबार १९औँ नगरसभामा नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आगामी आव ०८३/८४ का लागि चालुतर्फ एक अर्ब ६८ करोड ३१ लाख ८९ हजार (३६ प्रतिशत) र पुँजीगततर्फ तीन अर्ब दुई करोड ७० लाख ८२ हजार (६४ प्रतिशत) विनियोजन गरिएको जानकारी दिए।

बजेटको खर्च व्यहोर्ने स्रोतका रूपमा संघीय वित्तीय सामानीकरण अनुदानबापत प्राप्त हुने २४ करोड ६० लाख, संघीय सरकारबाट सर्सत अनुदान दुई अर्ब ६७ करोड ९६ लाख, संघीय राजस्व बाँडफाँट २१ करोड ३६ लाख ४७ हजार रुपैयाँ छ। प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबापत तीन करोड ५३ लाख ३५ हजार रुपैयाँ, ससर्त अनुदान ५० करोड ५३ लाख ७२ हजार रुपैयाँ, राजस्व बाँडफाँटतर्फ ४४ लाख ११ हजार रुपैयाँ छ।

संघ तथा प्रदेश समपूरक र विशेष अनुदान चार करोड ५९ लाख, स्थानीय राजस्व बाँडफाँट तर्फको १८ करोड रुपैयाँ, नगरपालिकाको आन्तरिक आम्दानी ३३ करोड ६ लाख ६५ हजार रुपैयाँ, बैंक मौज्दात तीन करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानबापत प्राप्त हुने ४३ करोड रुपैयाँ वीरेन्द्रनगरको स्रोतका रूपमा छ।

सुर्खेतका नौ स्थानीय तहमध्ये अर्बमा बजेट ल्याउने वीरेन्द्रनगरपछिको गुर्भाकोट नगरपालिका हो। बाँकी स्थानीय तहले करोडमा बजेट प्रस्तुत गरेका छन्। गुर्भाकोट नगरपालिकाले एक अर्ब आठ करोड रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाका प्रवक्ता मधु गुरुङका अनुसार चालुतर्फ ६० करोड र पुँजीगततर्फ ५८ करोड ९२ लाख विनियोजन गरिएको छ।

पञ्चपुरी नगरपालिकाको १९औँ नगरसभा।

बराहताल गाउँपालिकाले आगामी आवका लागि ६३ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बराहतालले चालुतर्फ कुल बजेटको ६८ प्रतिशत र पुँजीगततर्फ ३२ प्रतिशत छ। चौकुने गाउँपालिकाले आगामी वर्षका लागि चालुतर्फ ४० करोड ८६ लाख ६६ हजार रुपैयाँ र पुँजीगततर्फ १९ करोड ८७ लाख ५० हजार रुपैयाँ गरी कुल ६० करोड ७४ लाख १६ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ।

सिम्ता गाउँपालिकाले आगामी वर्षका लागि चालुतर्फ ४४ करोड ४१ लाख १६ हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड २३ लाख १४ हजार रुपैयाँ गरी कुल ६० करोड ६४ लाख ३० हजार रुपैयाँबराबरको बजेट ल्याएको छ। यस्तै चिंगाड गाउँपालिकाले पनि ४४ करोड ४६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ। चालुतर्फ ३३ करोड एक लाख ८१ हजार रुपैयाँ र पुँजीगततर्फ ११ करोड ४४ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

भेरीगंगा नगरपालिकाले ३ असारमा ४३ करोड रुपैयाँबराबरको बजेट प्रस्ताव गरेको छ। संघबाट हस्तान्तरण हुने अनुदानको सिलिङ सार्वजनिक नहुँदै भेरीगंगाले आफ्नो बजेट सार्वजनिक गरेको थियो। पञ्चपुरी नगरपालिकाले ६९ करोड ६२ लाख ३४ हजार बजेट प्रस्तुत गरेको छ।

भेरीगंगा नगरपालिका।

लेकबेँसी नगरपालिकाले आगामी आवका लागि कुल ६९ करोड ३९ लाख २४ हजार ६०१ रुपैयाँबराबरको बजेट ल्याएको छ। कुल बजेटमध्ये चालुतर्फ ४६ करोड ४१ लाख ९१ हजार ६०१ रुपैयाँ र पुँजीगततर्फ २२ करोड ९८ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ।