रास्वपा महाधिवेशन
केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नेमा अधिकतर पुरुष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचनको तयारी भइरहेको छ।
केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका ३८४ उम्मेदवारमध्ये नौ जना बहालवाला मन्त्री र ४० भन्दा बढी प्रतिनिधिसभा सदस्य छन्।
केन्द्रीय सदस्यका उम्मेदवारको सूचीअनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कृषि, पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी चुनावी मैदानमा छन्।

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने। तस्बिर : नेपाल फोटो लाइब्रेरी
१७ सदस्यीय मन्त्रिपरिषद्मध्ये प्रधानमन्त्री वालेन्द्र शाह भने वरिष्ठ नेतामा मनोनीत हुने निश्चित भइसकेको छ। रास्वपाको विधानअनुसार पार्टीमा विशेष योगदान पुर्याउने व्यक्तिलाई सभापतिले वरिष्ठ नेतामा मनोनीत गर्ने व्यवस्था छ। रास्वपाको विधानले आवश्यक परे सभापतिलाई एकभन्दा बढी वरिष्ठ नेता मनोनीत गर्ने अधिकार पनि दिएको छ।
सभापतिमा रवि लामिछाने एकल उम्मेदवार भएकाले उनी निर्वाचित हुने निश्चित छ। औपचारिक रूपमा सभापति घोषणा भएपछि लामिछानेले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्नेछन्।
प्रतिस्पर्धामा सांसद
प्रतिनिधिसभाका ४० भन्दा बढी सदस्य रास्वपाको केन्द्रीय सदस्य बन्ने प्रतिस्पर्धामा छन्। प्रतिस्पर्धामा केपी खनाल, हरि ढकाल, इन्दिरा राना मगर, मनिष झा, डा. तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, निशा डाँगी, विपिनकुमार आचार्य, गणेश पराजुली र क्रान्तिशिखा धिताल उत्रिएका छन्। त्यस्तै, गणेश धिमाल, मधुकुमार चौलागाईं, चन्दनकुमार सिंह, दीपककुमार साह, अरविन्द साह, रहबर अन्सारी र खगेन्द्र सुनार पनि केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्दै छन्।
चुनावी मैदानमा गणेश कार्की, हरिमोहन भण्डारी, रुकेश रन्जित, राजीव खत्री, रमेश प्रसाईं, प्रकाशचन्द्र परियार, पारसमणि गेलाल, समीक्षा बाँस्कोटा र लिमा अधिकारी पनि देखिएका छन्। कुसुम महर्जन, कामिनीकुमारी चौधरी, टीका संग्रौला, सुलभ खरेल, बब्लु गुप्ता, अशोककुमार चौधरी, नरेन्द्रकुमार गुप्ता, सागर ढकाल र पुष्पाकुमारी चौधरी पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन्। त्यसैगरी, दीपकराज बोहोरा, राजकिशोर महतो, आशा झा, देवराज पाठक, कृष्णकुमार कार्की, सन्तोष राजवंशी, विश्वराज पोखरेल, प्रकाश पाठक, प्रेमलाल चौधरी, शिवशंकर यादव, कमल सुवेदी, जगदीश खरेल (दोलखा) र जगदीश खरेल (ललितपुर)लगायत सांसदले पनि रास्वपा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्।

केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता फाराम भर्दै प्रतिनिधिहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी
रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। यसरी निर्वाचित ९९ जनामध्येबाट पदाधिकारीका लागि पुनः निर्वाचन हुने व्यवस्था छ।
पदाधिकारी बन्न पनि पहिले केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने प्रावधान रहेकाले उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीका आकांक्षी पनि केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा छन्।
उपसभापतिमा स्वर्णिम वाग्ले, लिमा अधिकारी, सोविता गौतम र समीक्षा बाँस्कोटाको नाम चर्चामा छ। विधानअनुसार तीन उपसभापतिमध्ये एक जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ।

बन्दसत्र परिसरमा प्रतिनिधिको नामावली सूची हेर्दै सहभागी कार्यकर्ताहरू। तस्बिर : चन्द्रकला क्षेत्री/ रासस
त्यस्तै, महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी, दीपककुमार आचार्य, शिशिर खनाल र मनिष झाको नाम चर्चामा छ।
प्रतिस्पर्धामा पुरुषको बाहुल्य
केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ३८४ मध्ये पुरुषको बाहुल्य देखिएको छ। रास्वपाले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार ३०४ पुरुष र ८० महिला प्रतिस्पर्धामा छन्। यसअनुसार कुल उम्मेदवारमध्ये पुरुषको प्रतिशत ७९ हुन्छ।
रास्वपाको विधानअनुसार केन्द्रीय सदस्यमा एकतिहाइ महिला प्रतिनिधित्व आवश्यक हुन्छ। रास्वपाले प्रदेशगत प्रतिनिधित्वका लागि भूगोलबाट ३५ सिट तोकेको छ। ती सिटका लागि १७४ जना प्रतिस्पर्धामा छन्। त्यसमा सुदूरपश्चिम प्रदेशबाट १८, कर्णाली र लुम्बिनीबाट ३१-३१, गण्डकी र बागमतीबाट २७-२७, मधेस र कोसीबाट २०-२० जना उम्मेदवार छन्।
त्यसबाहेक राष्ट्रिय प्रतिनिधित्वका लागि २१० जना प्रतिस्पर्धामा छन्। उनीहरूमध्ये ६४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। जसअन्तर्गत राष्ट्रिय खुला प्रतिस्पर्धाबाट ३२ र समानुपातिक समावेशी प्रतिस्पर्धाबाट ३२ जना छनोट हुनेछन्।