काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
अ+
अ-

ललितपुर। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष लागि सात अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

ललितपुरमा बुधबार आयोजित महानगरको नवौँ नगरसभामा महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन्। चालु आवका लागि महानगरले सात अर्ब ४७ करोड ४१ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको थियो।

बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रूपमा खर्च गर्नेगरी आगामी आवका लागि चालु खर्चका लागि तीन अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको उनले बताइन्।

त्यसैगरी पुँजीगत खर्चतर्फ चार अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको उनले बताइन्। उनले कला, संस्कृति तथा सम्पदाको समुचित संरक्षण र संवर्द्धन, स्थानीय स्रोत-साधनको संरक्षण र समुचित परिचालन तथा सार्वजनिक जग्गाको संरक्षण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा बजेटले जोड दिएको बताइन्।

त्यसैगरी सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवर्द्धन, अपांगतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार तथा व्यवस्था, विपत् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरणलगायतमा समेत महानगरले विशेष प्राथमिकता दिएको उनले जानकारी दिए।