चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा विपिन आचार्य विजयी भएका छन्।
महाधिवेशनअन्तर्गत चितवनमा शुक्रबार भएको निर्वाचनमा आचार्यले प्रतिस्पर्धी मनीष झालाई पछि पार्दै महामन्त्री बनेका हुन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै आचार्यलाई पार्टीभित्र तथा समर्थकले बधाई तथा शुभकामना दिएका छन्। महामन्त्रीका प्रतिस्पर्धी झाले पनि आचार्यलाई बधाई दिँदै पार्टीलाई अझ सशक्त र एकताबद्ध बनाउनेतर्फ सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
आफूले चुनाव हारे पनि पार्टीमा राजनीतिलाई जीवित राख्न सफल भएको झाले बताए। उनले पार्टीमा अरू पुरानो असफल पार्टीजस्तै टीकेप्रथा र गुटप्रथा नहोस् भनेर आफूले प्रयास गरेको धारणा राखे। रास्वपाको महाधिवेशनमा केही व्यवस्थापकीय कमजोरी भए पनि लोकतान्त्रिक तवरबाट सफलतापूर्वक समापन भएको उनले बताए।
त्यस्तै नवनिर्वाचित महामन्त्री आचार्यले पहिलो ऐतिहासिक महाधिवेशनसम्म जोडिने सम्पूर्ण व्यक्तिहरू संस्थापन भएकाले कोही पनि कुनै समूहको भन्ने आरोप सही नभएको बताए। महाधिवेशन सम्पन्न गर्दै गर्दा पार्टी थप संस्थागत हुने दिशामा अगाडि बढेको उनले बताए।
आचार्यले पार्टीलाई अझ बढी पारदर्शी, विधिसम्मत र पार्टीलाई नागरिकप्रति उत्तरदायी बनाउने दिशामा महामन्त्रीका रूपमा आफ्नो भूमिका रहने धारणा राखे। यसअघि आचार्य रास्वपाको सह-महामन्त्री थिए।