व्यक्तिवृत्त

संगीत मार्फत आफैँसँग र समाजसँग संवाद गर्ने सुशान्तका गीतहरू बच्चादेखि वृद्ध उमेर समूहसम्म चर्चित छन्।

१३ असार २०८३
सुशान्त घिमिरे। सबै तस्बिर सौजन्य : सुशान्त घिमिरे
अ+
अ-

रक्सी यस्तो आदत हो, जसले मान्छेको इच्छाशक्तिलाई आफ्नो वशमा पारेर उसलाई निरीह बनाइदिन्छ। त्यसैले अब पिउँदिन भो भनेको मान्छे भोलि फेरि मात्तिन्छ। र, आफैँसँग पुनः झुटो वाचा दोहोर्याउँछ, अब पिउँदिन भो…।

यो कुनै एक व्यक्तिको चरित्र होइन, हाम्रो समाजका अनगिन्ती मानिसको प्रवृत्ति हो। यस्तै प्रवृत्तिलाई सुशान्त घिमिरेको पछिल्लो गीत लरबरले दुरुस्तै समाएको छ। ह्यांगओभर एन्थेम भनिएको गीतले भन्छ,

अब पिउँदिन भो
खोया बिर्के यो
भोलि छोड्छु भन्दाभन्दै
जीवन बित्ने भो
लरबर लौ घुमायो रे…

आदत, लत र झुटो बाचाको कथा लरबर सुन्दा÷हेर्दा तपाईंको दिमागमा पनि धेरै वास्तविक पात्रका अनुहार नाँच्यो भने अचम्म हुने छैन। सुशान्तको यस गीतका स्रोत त्यस्तै पियक्कडहरू हुन्, जसलाई पिउन विशेष अवसर चाहिन्न। सुशान्तले हरेक दिन पिउनैपर्ने आदत भएका धेरैकोे मित्रता, प्रेम र पारिवारिक सम्बन्धमा मदिराले संकट निम्त्याएको देखेका रहेछन्।

“मेरो वरिपरि मैले धेरै मानिस देखेको छु, जो सधैं अब पिउँदिन भो भन्छन्। तर अर्को दिन मस्त पिएर लड्छन्। रक्सीले धेरै मानिसको सम्बन्ध र स्वास्थ्य बिगारेको छ,” सुशान्त भन्छन्, “यस्ता मान्छे जहीँतहीँ भेटिन्छन्। यही साझा विषयलाई ठट्टा र व्यंग्यसहित लरबर बनाएँ। स्रोता दर्शकले मन पराइदिनुभयो।”

सुशान्त घिमिरे।

स्रोता दर्शकले सुशान्तको गीत मन पराएको यो पहिलो पटक होइन। अजम्बरी माया, जिन्दगी सररर मोटरगाडीमा, मन चरी, फेरि फेरि माया मिसाउँला, जुन न हेरी तिमीलाई हेरौँला, एक्लो मन जस्ता लगभग सबै गीतले माया पाएको छ। विशेष गरी युवा पुस्तामाझ लोकप्रिय सुशान्तको रमाइलो शैलीका बनाइएका उनका जिन्दगी सररर मोटर र लरबरजस्ता गीतले भने बच्चादेखि पाका उमेरसमूहलाई समेत आकर्षित गरेको छ।

सन् २०१७ मा परी गीतबाट औपचारिक सांगीतिक यात्रा सुरु गरेका सुशान्तले छोटो अवधिमै पाएको लोकप्रियता लोभलाग्दो छ। यसको कारण हो, उनी आफ्नै निजी अनुभूतिलाई गीतको विषय बनाउँछन्। वरपरका पात्र र परिवेशबाट विषय टिप्छन्। सुशान्तको अनुभवमा वास्तविक जीवनको नजिकका यस्ता गीत वा त्यसभित्रका कथाले स्रोताहरूसँग सोझै संवाद गर्छ। “किनभने ती कथा स्रोताहरूका साथीभाइ, परिवार, सम्बन्ध, मिलन, विछोड, संघर्ष र सम्झनाहरूसँग जोडिएको हुन्छ,” उनी भन्छन्।

अपरिचित मानिसहरूसँग गफ गर्न, उनीहरूको पृष्ठभूमि बुझ्न र तिनका कथा सुन्न रुचाउँछन् सुशान्तका सर्वसाधारणकै ठेट भाषादेखि समाजका विभिन्न चरित्रहरू अटाउँछन्। यसले स्रोताका भावना र मनोविज्ञान समेत बुझ्न सघाउँदो हो।

कुहुकुहु गर्दै मलाई सुनाउने चरी
तिमीसँगै उडी जाने मन लाग्छ घरी घरी
बहाना खोज्दै हिँडेको म घुम्दै वरिपरि
तितो तितो संसारैदेखि टाढा डाँडापारि
मेरो आफ्नै मनपरि…
(मनचरी)
बाटा कति अधेँरोमै उजेली देखाउने
शिशिर बसन्त कहीँ भुमरी डुलाउने
अधुरा प्रश्न मेरा खाली नै उत्तर
भए दुखी महल झुपडी सजाउने
(फेरि फेरि)

सरल शब्दमा यसरी गहन अर्थ दिने गीत बुन्न सक्नु घिमिरेको विशेषता हो। सुशान्त आफ्ना गीतका यी शब्द यसरी गाउँछन् मानौँ उनी गाउन होइन संवाद गर्न चाहन्छन्। कहिले स्रोतासँग त कहिले आफ्नै अन्तर्मनसँग। जस्तै,

सुस्तरी सुस्तरी बग्ने हो कि?
डराउँछ यो मन, अधूरै छ नि
थमाएँ, समाएँ यी वेगहरू
मायाकै त्यो मन्दारै पुग्ने हो कि?
घरीघरी यी भावनाका वेग किन?
अघिअघि, ए, हेर्छन्, जिस्काउँछन् झन!
(बुझाऊ मलाई)

“मेरा लागि संगीत भनेको सबैभन्दा पहिले अभिव्यक्ति हो। यो मेरो आफ्नै भाषा हो। म धेरै कुरा शब्दमा स्पष्ट रूपमा भन्न सक्दिनँ। तर गीतमार्फत भन्न सक्छु,” सुशान्त थप्छन्, “जुनसुकै शैली अपनाए पनि, जति फरक विषयमा लेखे पनि, अन्ततः म आफैँलाई नै खोजिरहेको हुन्छु।”

सुशान्त घिमिरे।

संगीतमार्फत अन्तर्मनको यो खोजमा सुशान्तको बाल्यकालको पृष्ठभूमि गाँसिने नै भयो। पूर्वी नेपालको चतरा घर भएका सुशान्त मामाघर विराटनगरमा जन्मे।

कक्षा तीन पढ्दै गर्दा उनले अभिभावक दिवसमा स्टेजमा चढेर राजु लामाको तिमीलाई देखेर गीत गाए। सुशान्तका अनुसार, त्यही क्षणदेखि उनी आफू र आफ्ना साथीभाइ तथा नातेदारका नजरमा गायक बने।

त्यसपछि मामाघर नजिकैको मन्दिरमा हुने नियमित भजनले उनलाई संगीतको अलग माहोलमा पुर्यायो। हरेक वर्षको देउसी भैलोमा भट्याउने बेला उनकै खोजी हुन थाल्यो। बत्ती गएको बेला घरभरिका मानिसलाई गीत सुनाउनु पनि उनका लागि संगीत अभ्यास गर्ने बहाना बन्यो।

आठ कक्षापछि काठमाडौँ आएका उनलाई धेरै पछिसम्म संगीतमै करिअर बनाइएला भन्ने भेउ थिए। जब मेहनतका साथ इन्जिनियरिङ पढ्दासमेत ब्याक लाग्यो, उनी अध्ययनप्रति निरुत्साहित भए।

त्यही बेला उनी कलेज जान छोडेर सांगीतिक ज्याम गर्ने संगतमा रमाउन थाले। त्यहीबेला उनले गितार सिके। त्यसपछि घरका सदस्यलाई नभनी बार गिग गर्न थाले। पछि चिनीयाँ कम्पनीमा काम गर्दासमेत उनी मध्यरातसम्म बारमा गएर गाउने बजाउने गर्न थाले।

उनी भन्छन्, “त्यही क्रममा अरूका गीत गाउँदा गाउँदै आफ्नै गीत निकाल्ने अवसर पाएपछि मेरो बाटो पूर्णरूपमा संगीततर्फ मोडियो।”

भजनभित्रको जीवनदर्शक र अध्यात्म सुशान्तको पृष्ठभूमिमा गाँसिएकै थियो, ठमेलको परिवेशले उनलाई पाश्चात्य संगीतका आयाम पनि बुझायो। अहिले उनका गीत संगीतमा यी सबै पक्षको सम्मिश्रण भेटिन्छ।

नयनराज पाण्डेका ‘उलार’, ‘लू’, बुद्धिसागरको कर्नाली ब्लुज जस्ता किताब मन पराउने सुशान्त कुनै बेला ब्लगसमेत लेख्थे।

सुशान्त घिमिरे।

“सरल भाषामा जीवनका जटिल अनुभव र समाजको यथार्थ चित्रण गर्ने किताबहरूले मलाई आफ्नै लेखनको मूल्यांकन गर्न बाध्य बनायो,” उनी भन्छन्, “अहिले फर्केर हेर्दा, मैले लेखेका ब्लगहरूमा पनि त्यस्तै कथनशैलीको प्रभाव देखिन्छ। आफ्नै अनुभवमा कल्पना मिसाएर कथा भन्न मलाई रमाइलो लाग्थ्यो।”

आजको समयमा दृश्य पनि शब्द–संगीत जत्तिकै महत्वपूर्ण पक्ष बनिसकेको छ। सुशान्तका दर्शकहरूलाई थाहा छ, कथात्मक शैलीमा प्रस्तुत गरिने म्युजिक भिडियोहरू सुशान्तको सबल पक्ष हो। आफ्ना थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गर्ने सुशान्त चे शंकरले निर्देशन गरेको कोही किन बरबाद होस् नाटकमा अभिनयसमेत गरेका थिए। त्यहीबेलादेखि रंगमञ्चबाट प्रभावित उनले केही समय अभिनय प्रशिक्षणसमेत लिए। त्यसैले उनका म्युजिक भिडियोमा रंगमञ्चका कलाकारहरूसमेतले अभिनय गरेका छन्।

“गीतले एउटा कुरा गरिरहेको हुन्छ, तर त्यसभित्र धेरै तहका अर्थहरू लुकेका हुन्छन्,” सुशान्त भन्छन्, “भिडियो बनाउँदा हामी तीमध्ये कुनै एउटा कथा रोज्छौँ। समाजका वास्तविक पात्रजस्तै देखिने गरी त्यसलाई दृश्य भाषामा प्रस्तुत गर्ने प्रयास गर्छौं।”

सुशान्तका अनुसार, उनी नयाँ गीत बनाउँछु भनेर बल गरेर सिर्जना गर्दैनन्। सुरुमा मेलोडी आउँछ। धुनभित्र शब्द खेलाउन रमाउँछन् उनी। त्यसैले गीत र धुन प्रायः सँगसँगै विकसित हुन्छ। ‘‘मेरा हरेक गीत फरक अनुभवका परिणाम हुन्,’’ उनी भन्छन्। गीतमा फरक उमेर र फरक समयका रंगहरु मिसाइदिन्छन्।

यी अनुभवमा केही प्रभाव पनि भेटिन्छन्। सुशान्तले कच्चा उमेरमै भक्ति संगीत मार्फत अध्यात्म र संगीतबीचको अन्तर्सम्बन्ध महसुस गरेका थिए। त्यसको प्रभाव उनका हरेक गीतमा धेरथोर भेटिन्छ। त्यसैले उनी घरी भक्तराजजस्तो सुनिन्छन्, घरी कैलाश खेरजस्तो। सुक्ष्म भावनालाई कविताको शैलीमा एउटै गीतभित्र धेरै तहका अर्थ राख्ने आइरिस संगीतकार डेमियन राइसबाट समेत प्रभावित छन्। झर्रो लोकदेखि सूफीसम्मका बहुविधागत विशेषता बोकेर हिँडेका सुशान्त संगीतमा प्रयोग गर्न रुचाउँछन्।

भन्छन, “एउटै शैलीमा धेरै समय काम गर्दा आफैँलाई बोर लाग्छ। हरेक नयाँ काममा केही न केही नयाँ गर्ने प्रयास गर्छु। नयाँ गीत बनाउँदा दर्शकको अपेक्षाभन्दा फरक के गर्न सक्छु भन्ने उत्सुकता सधैं रहन्छ।”

आजको तीव्र प्रतिस्पर्धात्मक सांगीतिक माहोलमा गीत बनाएर मात्रै पुग्दैन, ती गीत दर्शकसम्म पुर्‍याउन सर्जक आफैँले आफ्नो ब्रान्डिङ गर्न सक्नुपर्छ। यसबारे पनि सुशान्त सचेत देखिन्छन्। ‘सुशान्त र राग’ ब्यान्डको नामबाट उनी देश विदेशका कन्सर्ट मार्फत स्रोताहरुसँग प्रत्यक्ष रुपमा जोडिएका छन्।

सुशान्त घिमिरे।

सुशान्तको झुकाव सानैदेखि  संगीत तिरै थियो। संगत र सत्संगले पनि उनीबाट संगीत कहिल्यै छुटेन। तर गाएरै बाँच्ने सपना देख्न उनी धकाइरहे। इन्जिनियरिङको अध्ययन अपुरै छोडेर एथ्नोम्युजोकोलोजी पढेका उनका लागि संगीत व्यवसायमात्रै होइन। आफैँलाई अभिव्यक्त गर्ने माध्यम भए पनि बजारको प्रतिस्पर्धाबाट उनी टाढा भने छैनन्।

सामाजिक सञ्जाल, एल्गोरिदम र डिजिटल प्लेटफर्महरू आजको समयका वास्तविकता हुन। उनी त्यसलाई अहिलेका कलाकारले पूर्ण रूपमा बेवास्ता गर्न सम्भव नभएको मत राख्छन्। र स्विकार्छन, “कहिलेकाहीँ ट्रेन्डिङ पछयाउने दबाब पनि हुन्छ। कला, लोकप्रियता र भाइरल के हो भन्ने बुझाइले सिर्जनात्मक निर्णयमा प्रभाव पार्न सक्छ। यसको भिन्नताबारे कलाकारमा दुबिधा हुनुहुँदैन।म यसमा प्रष्ट छु।”