काठमाडौँ। कमजोर रहेको मनसुन अबको साता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको जानकारी गराउँदै आगामी साता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिए। उनका अनुसार मंगलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ। उनका अनुसार आज (शनिबार) राति कोसी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भोलि (आइतबार) राति कोसी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा तथा कोसी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ। सोही दिन सुदूरपश्चिम प्रदेशका तराई भू-भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ।
सोमबारदेखि भने वर्षा थप बढ्नेछ। सोमबार देशभर साधारणत: बादल लाग्ने तथा देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ।
कोसी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोसी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि आउने विभागले जनाएको छ। सोमबार रातिदेखि भने थप सक्रिय भई कोसी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
मधेस प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती‚ गण्डकी र लुम्बिनीका तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार १४ देखि १७ असारसम्ममा मनसुन थप सक्रिय भई १६ देखि १८ असारसम्ममा भारी वर्षा गराई रोपाइँको वातावरण बन्नेछ। सोमबारपछि भने पश्चिम नेपाल बाँकेदेखि कञ्चनपुरसम्मै वर्षा गराउने उनले जानकारी गराए।