दृष्टिकोण
एआईको युगमा हामी पुरानो बञ्चरो कति राम्रोसँग बनाउन सक्छौँ भन्ने प्रश्न होइन; प्रश्न यो हो कि हाम्रो समयको ‘नयाँ बञ्चरो’ के हो?
मानव प्रगतिको समुच्च इतिहासलाई एउटै कोणबाट हेर्ने हो भने त्यो विज्ञान, प्रविधि र नवप्रवर्तनको इतिहास हुनेछ। आज हामी एआई (कृत्रिम बुद्धिमता), जीन सम्पादन र अन्तरिक्ष अनुसन्धानको युगमा आइपुगेका छौँ। तर यो यात्रा एकाएक सुरु भएको होइन। यो लाखौँ वर्षदेखि बगिरहेको मानव सभ्यता विकासको निरन्तर प्रवाह हो। ३० लाख वर्षअघि कुनै अज्ञात मानव पूर्वजले एउटा ढुंगा उठाएर अर्को ढुंगासँग ठोक्कायो र त्यसबाट निस्किएको धारिलो टुक्रालाई कुनै उद्देश्यका लागि प्रयोग गर्यो। त्यो क्षण सम्भवत: मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमध्ये एक थियो। किनकि मानवले पहिलो पटक प्रकृतिले दिएको वस्तुलाई प्रयोग मात्र गरेन, आफ्नै आवश्यकता र कल्पनाअनुसार त्यसलाई रूपान्तरण गर्यो। त्यही क्षणबाट सुरु भएको यात्रा ढुंगे औजारदेखि हलो, बाफ इन्जिन, कम्प्युटर हुँदै आज एआईसम्म आइपुगेको छ।
मानिसहरू पृथ्वीको सबैभन्दा बलियो प्राणी थिएनन्। सिंह छिटो दौडिन्थ्यो, हात्ती बलियो थियो, गैँडा शक्तिशाली थियो। तर तीमध्ये कसैले पनि कृषि विकास गरेनन्, दूरबिन बनाएनन्, औद्योगिक क्रान्ति ल्याएनन् वा अन्तरिक्षयान प्रक्षेपण गरेनन्। मानव जातिलाई पृथ्वीको प्रमुख प्रजाति बनाउने कुरा उसको शारीरिक शक्ति थिएन, थियो त ज्ञान सिर्जना गर्ने, त्यसलाई सुरक्षित राख्ने र अर्को पुस्तामा हस्तान्तरण गर्ने अद्वितीय क्षमता। विज्ञान, प्रविधि र नवप्रवर्तनको सम्पूर्ण इतिहास यही क्षमताको विस्तार हो।
भाषा, तर्क र वैज्ञानिक चेतनाको जन्म
भाषाले मानिसलाई संवाद गर्न मात्र होइन, विचारलाई संयोजित र संरक्षित गर्न पनि सक्षम बनायो। भाषाबिना जटिल अवधारणा, दीर्घकालीन योजना वा सामूहिक स्मृतिको विकास सम्भव हुने थिएन। भाषाको विकाससँगै एक पुस्ताले सिकेको कुरा अर्को पुस्तामा हस्तान्तरण हुन थाल्यो र ज्ञान क्रमशः सञ्चित हुँदै गयो। मानवशास्त्री तथा जीव वैज्ञानिकहरूले मानव सफलताको प्रमुख कारण यही सञ्चय गर्ने संस्कृति अर्थात् पुस्तौँसम्म ज्ञान सञ्चय र विस्तार गर्ने क्षमता भएको तर्क गरेका छन्
अन्य केही प्राणीले पनि औजार प्रयोग गर्छन्। उदाहरणका लागि, चिम्पान्जीहरूले ढुंगा प्रयोग गरेर बदाम फुटाउँछन्, र केही बाँदर प्रजातिले खाना प्राप्त गर्न साधारण उपकरणको प्रयोग गर्छन्। तर यस्ता सीपहरू सीमित दायराभित्रै रहन्छन्, किनकि उनीहरूले आफ्नो अनुभवलाई विस्तृत रूपमा वर्णन गर्ने, नयाँ अवधारणा निर्माण गर्ने वा ज्ञान सञ्चित राख्ने जटिल भाषिक प्रणाली विकास गरेका छैनन्। फलस्वरूप, उनीहरूको औजार आज पनि हजारौँ वर्षअघिको जस्तै छ। जबकि मानवले ढुंगे बञ्चरोबाट सुरु गरेर अन्तरिक्ष यान र एआईसम्मको यात्रा तय गरिसकेको छ।
भाषासँगै तर्कको विकास भयो। मानिसहरूले संसारका घटनाहरूबीच कारण र परिणामको सम्बन्ध खोज्न थाले। किन वर्षा हुन्छ? किन रोग लाग्छ? किन ग्रहहरू आकाशमा घुम्छन्? यस्ता प्रश्नले मानवलाई मिथक र अन्धविश्वासको सीमाभन्दा बाहिर निकाल्दै क्रमशः अवलोकन, परीक्षण र अनुसन्धानतर्फ डोर्याए। यही जिज्ञासाले विभिन्न सभ्यतामा ज्ञानका छुट्टाछुट्टै परम्परा जन्मायो, जसले मानव बौद्धिक विकासलाई नयाँ दिशा दिए।
विज्ञान, प्रविधि र नवप्रवर्तनकाबारे हामी प्रायः एउटै सारमा कुरा गर्छौँ। सरकारी नीति, दस्ताबेजदेखि विश्वविद्यालयका भाषणसम्म यी तीन शब्द सँगसँगै र एउटैजसरी सुनिन्छन्। तर यी कुरा एउटै होइनन्। मानव सभ्यताको प्रगति कसरी सम्भव भयो भन्ने बुझ्न यी तीनबीचको सम्बन्ध र भिन्नता बुझ्न आवश्यक छ।
यो बौद्धिक यात्रा कुनै एक देश वा सभ्यतामा सीमित थिएन। प्राचीन भारत, ग्रीस, चीन र इस्लामिक सभ्यताहरू सबैले ज्ञानको खोजमा महत्त्वपूर्ण योगदान दिए। प्राचीन भारतीय साहित्यमा न्याय दर्शनले तर्क, प्रमाण र ज्ञान प्राप्त गर्ने विधिबारे विस्तृत चर्चा गरेको पाइन्छ। शून्य र दशमलब प्रणालीको विकासले गणितलाई नयाँ उचाइमा पुर्यायो। प्राचीन ग्रीसमा दार्शनिकहरूले प्रकृतिलाई मिथकभन्दा तर्कको आधारमा बुझ्ने प्रयास गरे। सुकरात, प्लेटो र अरस्तुले ज्ञान, तर्क र प्राकृतिक घटनाबारे संयोजित चिन्तनको परम्परा विकास गरे। युक्लिडको ज्यामिति र आर्किमिडिजका गणितीय तथा भौतिक सिद्धान्तहरूले वैज्ञानिक सोचको जग बलियो बनाए।
त्यसैगरी, इस्लामिक स्वर्णयुगमा बग्दाद, दमास्कस र कर्डोबाजस्ता ठाउँहरू ज्ञानका अन्तर्राष्ट्रिय केन्द्र बने। मुस्लिम विद्वानहरूले ग्रीक, भारतीय र अन्य सभ्यताका ग्रन्थहरूको संरक्षण, अनुवाद र विस्तार गरे। अल्-ख्वारिज्मीका गणितीय कार्यबाट आधुनिक बीजगणित (अल्जेब्रा) को विकास भयो। यसरी विभिन्न सभ्यताले हजारौँ वर्षसम्म ज्ञानको भवनमा आ-आफ्नो इँटा थप्दै गए। मानव सभ्यताको वैज्ञानिक चेतना कुनै एक व्यक्ति, राष्ट्र वा सभ्यताको उपलब्धि होइन; यो सम्पूर्ण मानव जातिको साझा बौद्धिक सम्पत्ति हो।
आधुनिक विज्ञानको जन्म भने युरोपको वैज्ञानिक क्रान्तिसँग जोडिन्छ। सत्रौँ शताब्दीमा दुई महान् चिन्तकले मानव ज्ञानको मार्गलाई नयाँ दिशातर्फ मोडे। ती थिए- ग्यालिलियो ग्यालिली र रेने डेकार्टेस। ग्यालिलियोले दूरबिन प्रयोग गरेर आकाशको अवलोकन गरे। उनले चन्द्रमामा पहाडहरू रहेको, बृहस्पतिका चन्द्रमाहरू रहेको र सूर्यको सतहमा धब्बाहरू देखिने प्रमाण प्रस्तुत गरे। उनको ठूलो योगदान के थियो भने, उनले प्रकृतिबारेका दाबीहरूलाई अधिकार वा परम्पराको आधारमा होइन, अवलोकन र प्रयोगको आधारमा परीक्षण गरिनुपर्छ भन्ने मानक स्थापित गरे।
डेकार्टेसले पद्धतिबद्ध सन्देह र तार्किक विश्लेषणलाई ज्ञानको आधार बनाए। उनको प्रसिद्ध भनाइ ‘म सोच्छु, त्यसैले म छु’ केवल दार्शनिक वाक्य होइन; यो तर्क र विश्लेषणको शक्तिप्रति विश्वासको प्रतीक थियो। ग्यालिलियोले प्रयोग र अवलोकनको संस्कृति स्थापित गरे भने डेकार्टेसले तार्किक संरचनाको महत्त्व देखाए। आधुनिक विज्ञान यी दुई परम्पराको संगमबाट विकसित भएको हो- प्रयोग र तर्क।
यही प्रक्रियाबाट आइज्याक न्यूटनको भौतिकशास्त्र, चार्ल्स डार्विनको विकासवाद र पछि आधुनिक रसायन, जीवविज्ञान तथा खगोलशास्त्रको जन्म भयो।
विज्ञान र प्रविधि: ज्ञान र प्रयोगको सम्बन्ध
विज्ञान, प्रविधि र नवप्रवर्तनकाबारे हामी प्रायः एउटै सारमा कुरा गर्छौँ। सरकारी नीति, दस्ताबेजदेखि विश्वविद्यालयका भाषणसम्म यी तीन शब्द सँगसँगै र एउटैजसरी सुनिन्छन्। तर यी कुरा एउटै होइनन्। मानव सभ्यताको प्रगति कसरी सम्भव भयो भन्ने बुझ्न यी तीनबीचको सम्बन्ध र भिन्नता बुझ्न आवश्यक छ।
विज्ञानको उद्देश्य संसारलाई बुझ्नु हो। जब ग्यालिलियोले आफ्नो दूरबिन आकाशतर्फ फर्काए, उनले कुनै व्यापारिक उत्पादन विकास गर्न खोजेका थिएनन्। जब डार्विनले विकासवादको सिद्धान्त प्रस्तुत गरे, उनी उद्योग स्थापना गर्ने योजनामा थिएनन्। त्यसैगरी, भारतीय गणितज्ञ श्रीनिवास रामानुजनले पनि आफ्नो जीवन गणितका गहिरा समस्या केलाउन, बुझ्न समर्पित गरे। उनले विकास गरेका धेरै गणितीय सूत्रको तत्काल कुनै व्यावहारिक उपयोगिता देखिएको थिएन, तर तीमध्ये केही आज कम्प्युटर विज्ञान, क्रिप्टोग्राफी र आधुनिक भौतिकशास्त्रमा प्रयोग भइरहेका छन्। यी सबै उदाहरणको साझा विशेषता के हो भने, उनीहरू प्रकृति वा गणितका आधारभूत नियम बुझ्न खोजिरहेका थिए, बजारका लागि उत्पादन बनाउन होइन।
प्रविधि भने विज्ञानको प्रयोग हो। विज्ञानले विद्युत्को प्रकृति बुझाउँछ; प्रविधिले त्यसलाई बल्ब, कम्प्युटर र इन्टरनेटमा रूपान्तरण गर्छ। विज्ञानले उडानका सिद्धान्तहरू व्याख्या गर्छ; प्रविधिले विमान निर्माण गर्छ। विज्ञानले संसार बुझ्न खोज्छ भने प्रविधिले यो ज्ञानलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर सोध्छ।
उनीहरू प्रकृतिले कसरी काम गर्छ भन्ने प्रश्नको उत्तर खोजिरहेका थिए। विज्ञानले गुरुत्वाकर्षण, विकासवाद वा परमाणुको संरचनाजस्ता सिद्धान्त र व्याख्या दिन्छ। यसले किन र कसरी भन्ने प्रश्न सोध्छ। वैज्ञानिक खोजको उपयोगिता कहिलेकाहीँ दशकौँपछि मात्र देखिन सक्छ, तर मानव ज्ञानको जग त्यहीँबाट निर्माण हुन्छ।
प्रविधि भने विज्ञानको प्रयोग हो। विज्ञानले विद्युत्को प्रकृति बुझाउँछ; प्रविधिले त्यसलाई बल्ब, कम्प्युटर र इन्टरनेटमा रूपान्तरण गर्छ। विज्ञानले उडानका सिद्धान्तहरू व्याख्या गर्छ; प्रविधिले विमान निर्माण गर्छ। विज्ञानले संसार बुझ्न खोज्छ भने प्रविधिले यो ज्ञानलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर सोध्छ।
यद्यपि विज्ञान र प्रविधिको सम्बन्ध सधैँ एकै दिशामा बगेको छैन। इतिहासमा धेरै प्रविधि वैज्ञानिक व्याख्या विकसित हुनुभन्दा धेरै पहिले अस्तित्वमा आएका थिए। उदाहरणका लागि, प्राचीन चीनमा रेशम उत्पादन गर्ने प्रविधि हजारौँ वर्षदेखि विकसित भइसकेको थियो। तर रेशमका सूक्ष्म संरचना र पदार्थ विज्ञानका सिद्धान्तहरू भने धेरै पछि मात्र बुझिए। त्यसैगरी, मानिसहरूले फलाम गलाउन, डुंगा बनाउन र औषधीय वनस्पतिहरू प्रयोग गर्न सिकिसकेका थिए, जबकि ती प्रक्रियाले किन काम गर्छन् भन्ने वैज्ञानिक व्याख्या अझै उपलब्ध थिएन। प्रारम्भिक प्रविधि मुख्यतया अनुभव, परीक्षण र पुस्तौँदेखि सञ्चित ज्ञानमा आधारित थियो। आधुनिक युगको विशेषता भनेको विज्ञान र प्रविधि एकअर्कासँग झन् नजिकिँदै जानु हो- विज्ञानले नयाँ सम्भावनाहरू खोल्छ र प्रविधिले तिनलाई व्यवहारमा रूपान्तरण गर्छ।

एआईसिर्जित।
विज्ञान र प्रविधिबीच अर्को महत्त्वपूर्ण भिन्नता ज्ञानको प्रसारमा पनि देखिन्छ। विज्ञानको आदर्श खुलापन हो। कुनै वैज्ञानिकले नयाँ खोज गरेपछि त्यसलाई प्रकाशन गरिन्छ, परीक्षण गरिन्छ र संसारभरका अन्य वैज्ञानिकहरूले त्यसलाई प्रयोग वा चुनौती दिन सक्छन्। विज्ञानको प्रगति ज्ञान साझा गर्ने संस्कृतिमा आधारित हुन्छ।
प्रविधिको इतिहास भने थोरै फरक छ। लामो समयसम्म प्राविधिक ज्ञान शक्ति र सम्पत्तिको स्रोत मानिन्थ्यो। जसका कारण त्यसलाई गोप्य राखिन्थ्यो। उदाहरणका लागि, प्राचीन चीनले करिब दुई हजार वर्षभन्दा बढी समयसम्म रेशम उत्पादनको प्रविधिमा लगभग एकाधिकार कायम राख्यो। रेशम कसरी उत्पादन गर्ने भन्ने ज्ञान राज्यको गोप्य सम्पत्ति मानिन्थ्यो। रेशमका कीरा वा तिनका अण्डा बाहिर लैजानेलाई कडा सजाय दिइन्थ्यो। युरोपेलीहरू रेशम प्रयोग गर्थे, तर त्यसलाई उत्पादन गर्ने प्रविधि उनीहरूसँग थिएन।
आज पनि यो प्रवृत्ति पूर्ण रूपमा हराएको छैन। वैज्ञानिक अनुसन्धानका नतिजाहरू प्रायः सार्वजनिक रूपमा प्रकाशन हुन्छन्, तर नयाँ औषधि, कम्प्युटर चिप, औद्योगिक प्रक्रिया वा एआईसम्बन्धी धेरै प्राविधिक विवरण पेटेन्ट, व्यापारिक गोपनीयता वा कम्पनीभित्र सीमित ज्ञानका रूपमा सुरक्षित राखिन्छन्। त्यसैले कुनै देशले वैज्ञानिक लेखहरू पढेर मात्र प्राविधिक रूपमा अग्रणी बन्न सक्दैन; उसले प्रयोगशाला, उद्योग, दक्ष जनशक्ति र अनुभवबाट प्राप्त हुने व्यावहारिक ज्ञान पनि विकास गर्नुपर्छ।
यही कारणले विज्ञानको ज्ञान विश्वव्यापी हुन सक्छ, तर प्रविधिमा प्रतिस्पर्धात्मक लाभ प्रायः सीमित समूह वा राष्ट्रहरूको हातमा केन्द्रित रहन्छ। ज्ञानको खोज र ज्ञानको प्रयोगबीचको यही दूरीले इतिहासभरि प्रविधिगत प्रतिस्पर्धालाई जन्म दिएको छ।
नवप्रवर्तन : हरेक युगको आफ्नै ‘नयाँ बञ्चरो’
समाजलाई तीव्र रूपमा परिवर्तन गर्ने शक्ति भने नवप्रवर्तनमा निहित हुन्छ। नवप्रवर्तन भनेको नयाँ वैज्ञानिक नियम पत्ता लगाउनु मात्र होइन; उपलब्ध ज्ञान र प्रविधिलाई नबिन तरिकाले प्रयोग गरेर अतिरिक्त मूल्य सिर्जना गर्नु हो। इतिहासकार तथा लेखक वाल्टर आइज्याक्सनले उनको किताब द इनोभेटर्स्मा देखाएझैँ अधिकांश क्रान्तिकारी प्रविधि कुनै एक व्यक्तिको प्रतिभाबाट होइन, पुराना विचार र प्रविधिहरूको नयाँ संयोजनबाट जन्मिएका हुन्। स्मार्टफोनका अधिकांश आधारभूत प्रविधि धेरै पहिले विकसित भइसकेका थिए। तर ती सबैलाई एउटै उपकरणमा संयोजन गरेर सञ्चार, व्यापार, मनोरञ्जन र ज्ञानको पहुँचलाई आमूल परिवर्तन गर्नु नवप्रवर्तन थियो। त्यसैले नवप्रवर्तनको सार नयाँ खोजभन्दा पनि सिर्जनात्मक प्रयोगमा हुन्छ।
कुनै समाजको प्रगति पुराना आविष्कारको नक्कल गरेर मात्र हुँदैन। वास्तविक प्रगति तब हुन्छ, जब उसले आफ्नो समयका समस्याहरू पहिचान गर्छ र तिनका लागि नयाँ समाधान सिर्जना गर्छ।
नवप्रवर्तनबारे अर्को महत्त्वपूर्ण कुरा पनि छ, यो समयसँगै बदलिन्छ। कुनै वस्तु वा विचार सधैँका लागि नवप्रवर्तन हुँदैन। त्यो आफ्नो युगको सन्दर्भमा मात्र नवप्रवर्तन हुन्छ। कल्पना गरौँ, हजारौँ वर्षअघि कुनै मानव समुदायले पहिलो पटक बलियो ढुंगे बञ्चरो बनायो। त्यो केवल एउटा औजार थिएन। त्यसले जंगल फाँड्न, सिकार गर्न, घर बनाउन र अन्ततः कृषि विस्तार गर्न सम्भव बनायो। त्यस समयका लागि त्यो क्रान्तिकारी नवप्रवर्तन थियो।
समयसँगै नवप्रवर्तनको स्वरूप बदलिँदै गयो। कृषि युगमा हलो र सिँचाइ प्रणाली, औद्योगिक युगमा यान्त्रिक कपडा बुन्ने तान र बाफ इन्जिन, डिजिटल युगमा कम्प्युटर र इन्टरनेट, तथा आजको युगमा एआई र क्वान्टम कम्प्युटिङले समाजलाई रूपान्तरण गरिरहेका छन्। आज कसैले ढुंगे बञ्चरो वा यान्त्रिक तान पुनःनिर्माण गर्यो भने त्यसलाई नवप्रवर्तन भन्न सकिँदैन। ती आफ्नो समयका नवप्रवर्तन थिए; आज तिनको ज्ञान मानव सभ्यताको साझा सम्पत्ति बनिसकेका छन्। तिनलाई पुनःनिर्माण गर्नु, नयाँ ज्ञान सिर्जना गर्नु होइन, पहिले नै ज्ञात ज्ञानलाई दोहोर्याउनु मात्र हो। तसर्थ हरेक युगको आफ्नै नवप्रवर्तन हुन्छ। कृषि युगको अत्याधुनिक प्रविधि बञ्चरो र हलो थियो। औद्योगिक युगको अत्याधुनिक प्रविधि तान र बाफ इन्जिन थियो। डिजिटल युगको प्रतीक कम्प्युटर र इन्टरनेट बने। आज एआईको युगमा हामी पुरानो बञ्चरो कति राम्रोसँग बनाउन सक्छौँ भन्ने प्रश्न होइन; प्रश्न यो हो कि हाम्रो समयको ‘नयाँ बञ्चरो’ के हो?
कुनै समाजको प्रगति पुराना आविष्कारको नक्कल गरेर मात्र हुँदैन। वास्तविक प्रगति तब हुन्छ, जब उसले आफ्नो समयका समस्याहरू पहिचान गर्छ र तिनका लागि नयाँ समाधान सिर्जना गर्छ। इतिहासको प्रत्येक युगको आफ्नै बञ्चरो, आफ्नै तान र आफ्नै कम्प्युटर हुन्छ। चुनौती ती पुराना उपकरण पुनःनिर्माण गर्नु होइन, आफ्नो समयको अर्को ठूलो नवप्रवर्तन पहिचान गर्नु हो।
अर्थशास्त्री जोसेफ शुम्पेटरले आर्थिक विकासको मुख्य इन्जिन नवप्रवर्तनलाई मानेका थिए। उनका अनुसार, समाज अगाडि बढ्ने प्रक्रिया नयाँ विचारहरूले पुराना विधि र संरचनालाई विस्थापित गर्दै जाने ‘सिर्जनात्मक विनाश’ को प्रक्रिया हो। इतिहासका धेरै परिवर्तन नयाँ वैज्ञानिक नियमको खोजबाट भन्दा पनि पुराना ज्ञान र प्रविधिको नयाँ प्रयोगबाट सम्भव भएका छन्।
विज्ञानमा लगानी गर्नु भनेको भविष्यका सम्भावनाहरूमा लगानी गर्नु हो। अर्कोतर्फ, बजारमा नयाँ उत्पादन वा सेवा ल्याउने उद्देश्य भएका परियोजनाहरूका लागि निजी लगानी, बैंक तथा उद्यमशीलता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। सरकारको मुख्य भूमिका व्यवसाय सञ्चालन गर्नु होइन; नवप्रवर्तन सम्भव हुने वातावरण निर्माण गर्नु हो।
नेपालको सन्दर्भमा यो भिन्नता बुझ्नु झनै आवश्यक छ। उदाहरणका लागि, विदेशमा दशकौँदेखि प्रयोग भइरहेका कृषि उपकरणहरू नेपालमा निर्माण गर्ने, मर्मत गर्ने वा किसानसम्म पुर्याउने काम महत्त्वपूर्ण अवश्य हो, तर त्यसलाई स्वतः विज्ञान वा नवप्रवर्तन भन्न मिल्दैन। यस्ता गतिविधिहरू प्रविधि हस्तान्तरण वा प्रविधि प्रसारका उदाहरण हुन सक्छन्।
यसको अर्थ त्यस्ता प्रयासहरूको महत्त्व कम छ भन्ने होइन। कृषि यान्त्रीकरण विस्तार गर्नु, किसानलाई सुलभ उपकरण उपलब्ध गराउनु वा प्रविधिको पहुँच बढाउनु आफैँमा ठूलो सामाजिक र आर्थिक योगदान हो। तर कुनै समूहले ती उपकरणलाई नेपाली पहाडी भूगोलअनुसार पुनःडिजाइन गर्यो, साना खेतका लागि उपयुक्त बनायो वा स्थानीय समस्याको नयाँ समाधान निकाल्यो भने त्यो नवप्रवर्तन हुन सक्छ। जस्ताको तस्तै प्रतिलिपि तयार गर्नु भने मुख्यतया रिभर्स इन्जिनीयरिङ वा प्रविधि हस्तान्तरणको उदाहरण हो।
नेपाललाई चाहिन्छ नवप्रवर्तनको वातावरण
नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनबारे बहस हुँदा एउटा प्रश्न बारम्बार उठ्छ- यसबाट देशलाई के फाइदा हुन्छ? तर विज्ञानको मूल्य सधैँ तत्काल आर्थिक प्रतिफलबाट मापन गर्न सकिँदैन। इतिहासले के देखाउँछ भने आजको आधुनिक संसार सम्भव बनाउने धेरै खोज जिज्ञासाप्रेरित अनुसन्धानबाट जन्मिएका थिए। जब वैज्ञानिकहरूले विद्युत्, चुम्बकत्व वा परमाणुको संरचनामाथि अनुसन्धान गरिरहेका थिए, उनीहरूलाई स्मार्टफोन, इन्टरनेट वा एआईको कल्पना पनि थिएन। इन्टरनेटको आधार बनेको ‘वर्ल्ड वाइड वेब’ समेत कुनै व्यापारिक कम्पनीले बनाएको थिएन, युरोपेली परमाणु अनुसन्धान केन्द्र (सीईआरएन)का वैज्ञानिकहरूबीच सूचना र अनुसन्धान सामग्री आदानप्रदान सहज बनाउन विकसित गरिएको थियो।
आधुनिक प्रविधिको उपभोक्ता बन्न सजिलो छ; तर त्यस्ता प्रविधि सिर्जना गर्ने, सुधार गर्ने वा स्थानीय आवश्यकताअनुसार अनुकूल बनाउने क्षमता निर्माण गर्न दशकौँको शिक्षा, अनुसन्धान, इन्जिनीयरिङ संस्कृति र संस्थागत विकास आवश्यक पर्छ।
त्यसैले सरकारले विज्ञानलाई केवल नाफा–नोक्सानको दृष्टिले हेर्नु हुँदैन। विज्ञानमा लगानी गर्नु भनेको भविष्यका सम्भावनाहरूमा लगानी गर्नु हो। अर्कोतर्फ, बजारमा नयाँ उत्पादन वा सेवा ल्याउने उद्देश्य भएका परियोजनाहरूका लागि निजी लगानी, बैंक तथा उद्यमशीलता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। सरकारको मुख्य भूमिका व्यवसाय सञ्चालन गर्नु होइन; नवप्रवर्तन सम्भव हुने वातावरण निर्माण गर्नु हो।
यही सन्दर्भमा नेपालले सामना गरिरहेको एउटा गम्भीर विरोधाभासलाई पनि बुझ्नुपर्छ। हामी टेस्ला वा बीवाईडीजस्ता अत्याधुनिक विद्युतीय गाडी चढ्न चाहन्छौँ, फाइभ-जी स्मार्टफोन प्रयोग गर्छौँ र जीपीटीजस्ता एआईसँग संवाद गर्छौँ। तर त्यही समाजले अझै कृषि क्षेत्रलाई व्यापक रूपमा यान्त्रीकरण गर्न सकेको छैन। धेरै ठाउँमा स्वच्छ खानेपानीको भरपर्दो व्यवस्था छैन र अस्पतालहरूमा अक्सिजन आपूर्ति प्रणाली वा चिकित्सा उपकरणको मर्मतसम्भारजस्ता आधारभूत प्राविधिक समस्याहरू पनि देखिन्छन्। एकातिर हामी एआईको युगमा छौँ, अर्कोतिर आधारभूत सार्वजनिक सेवाहरूलाई आधुनिक बनाउन संघर्ष गरिरहेका छौँ।
यसको अर्थ प्रविधि उपलब्ध छैन भन्ने होइन। समस्या ज्ञान, संस्था र मानव पूँजीको अभावमा छ। आधुनिक प्रविधिको उपभोक्ता बन्न सजिलो छ; तर त्यस्ता प्रविधि सिर्जना गर्ने, सुधार गर्ने वा स्थानीय आवश्यकताअनुसार अनुकूल बनाउने क्षमता निर्माण गर्न दशकौँको शिक्षा, अनुसन्धान, इन्जिनीयरिङ संस्कृति र संस्थागत विकास आवश्यक पर्छ। कुनै देशको प्रगति उसले कति आधुनिक उपकरण प्रयोग गर्छ भन्नेबाट मात्र मापन गर्न सकिँदैन; उसले आफ्ना समस्या समाधान गर्न कति वैज्ञानिक, प्राविधिक र संस्थागत क्षमता निर्माण गरेको छ भन्नेबाट मापन गर्नुपर्छ।
दक्षिण कोरिया, जापान, चीन र ताइवानको अनुभवले यही देखाउँछ। ती देशले प्रत्येक उत्पादन आफैँ बनाएर होइन, शिक्षा, अनुसन्धान, पूर्वाधार र उद्योगमैत्री नीतिमा दीर्घकालीन लगानी गरेर सफलता हासिल गरे। ताइवानले दशकौँसम्म सेमिकन्डक्टर शिक्षा र अनुसन्धानमा लगानी गर्यो, जसले अन्ततः ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) जस्ता विश्वस्तरीय उद्योग जन्मायो।
नेपालका लागि चुनौती कुनै एक सफल परियोजना खोज्नु होइन। चुनौती यस्तो वातावरण निर्माण गर्नु हो, जहाँ विद्यार्थीले विज्ञान पढ्न चाहून्, अनुसन्धानकर्ताले नयाँ प्रश्न सोध्न सकून्, उद्यमीहरूले जोखिम लिन सकून्, र इन्जिनीयरहरूले स्थानीय समस्याका समाधान केन्द्रित विकास गर्न सकून्। अन्ततः कुनै देशको समृद्धि एउटा सफल आविष्कारमा होइन, नयाँ विचारहरू निरन्तर जन्माउन सक्ने क्षमता र वातावरणमा निर्भर हुन्छ। विज्ञान, प्रविधि र नवप्रवर्तन कुनै एक सरकारी कार्यक्रमबाट जन्मिँदैनन्; तिनीहरू जिज्ञासा, शिक्षा, स्वतन्त्र सोच र दीर्घकालीन लगानीबाट बनेको पारिस्थितिक प्रणालीबाट जन्मिन्छन्।
-सियोल, दक्षिण कोरिया