काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

१५ असार २०८३
अ+
अ-

काठमाडौँ। १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु जाने भएको छ।

१६ देखि २० असारसम्म हुने प्रतियोगितामा पाँच पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती पेस गर्नेछन्।

पुरुष ७५ केजीमा सगेन्द्र सिंह, ८० केजीमा दीपजंग रोकामगर, ८५ केजीमा सागर श्रेष्ठ, स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमुनि आकाश श्रेष्ठ र स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमाथि पुकार शाक्यले प्रतिस्पर्धा गर्नेछन्।

महिला मोडल फिजिक १५५ सेन्टिमिटरमाथि विनु जीटी तथा स्विमसुटमा सीता खत्रीले सहभागिता जनाउनेछन्। नवौँ मिस्टर हिमालय र दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितालाई मध्यनजर गरी खेलाडी छनोट गरिएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले जनाएको छ।

अफिसियलमा महासंघका सचिव दिनेशकुमार राजभण्डारी तथा निर्णायकमा जोनसन जोनछेन छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।

दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालले हालसम्म १२ स्वर्ण, १६ रजत र १९ कास्य जितेको महासंघले जनाएको छ। १५ मध्ये तीन संस्करण नेपालमै भएको थियो।