पाटन। ललितपुरको मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रूपमा प्रदर्शन गरिएको छ।
नेवार परम्पराअनुसार वर्षको सबैभन्दा लामो दिन सोमबार ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)का अवसरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको हो।
हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्याः पूह्नीका दिन श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने गरिएको कार्तिक नाच संरक्षण समिति सदस्य सञ्जयशर्माराज उपाध्यायले जानकारी दिए।

यस दिन दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने परम्परा लामो समयदेखि रहँदै आएको उनले बताए।
सिंहासन प्रदर्शनसँगै संगीत महोत्सव आयोजना गरिएको छ। झन्डै चार सय वर्ष अघिदेखि अर्थात् सिद्धिनरसिंह मल्लको पालादेखि जेष्ठ शुक्ल पूर्णिमाका दिन संगीत महोत्सव गर्ने चलन छ। संगीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पारेको राग मल्हारसहित ३१ वटा राग गाउने गरिन्छ। अरू दिन भने सिंहासन र पौभाः पाटन म्युजियमभित्र सुरक्षित तरिकाले राख्ने गरिएको छ।
