काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले तथ्य तथ्यांकसहित संक्षिप्त प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिइएकामा राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा अपेक्षित विषय उल्लेख भएको नपाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
समितिको यही ५ असारमा बसेको बैठकले तथ्य र तथ्यांकसहितको प्रतिवेदन पेस गर्न बैंकलाई निर्देशन दिएको थियो। तर निर्देशनबमोजिम अपेक्षित विषय उल्लेख नगरी प्रतिवेदन प्राप्त भएकाले यसअघिको निर्देशनबमोजिम माग गरिएका विषय स्पष्ट खुलाई पुनः प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए।
बैठकमा समिति सदस्यहरूले राष्ट्र बैंकको प्रतिवेदन अपूर्ण भएकाले पुनः प्रतिवेदन माग गर्नुपर्ने धारणा राखेका थिए। बैठकले मौद्रिक नीतिका सन्दर्भमा विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णयसमेत गरेको छ।
