काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका छन्।
पूर्वसांसद मञ्चले काठमाडौँमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँच वर्षको पूर्ण कार्यकाल पूरा गर्न नसकेको भन्दै वर्तमान प्रणाली असफल भएको बताए।
उनले खर्चिलो निर्वाचन प्रणालीलाई सुधार्न पूर्ण समानुपातिक व्यवस्था आवश्यक रहेको पनि बताए। नेपालका लागि संघीयता आवश्यक नभएको भन्दै गौतमले संघीयता कायम गर्ने भए ‘केन्द्रीकृत व्यवस्थाअन्तर्गतको संघीयता’ का रूपमा लैजानुपर्ने तर्क गरे।
उनले राज्यले पूर्वसांसदहरूलाई सम्मान गर्न चाहे उनीहरूलाई उचित जिम्मेवारी दिन सुझाए।