काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउँदा उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द गरिएका छन्। निजी पेट्रोल पम्पहरुले ‘पेट्रोल छैन’ र ‘डिजेल छैन’ लेखिएका सूचनासमेत राखेका छन्।
मूल्य घटेसँगै पुरानो मूल्यमा खरिद गरिएको इन्धन बिक्री गर्दा नोक्सानी हुने भन्दै व्यवसायीहरूले पम्प बन्द गरेका हुन्। पेट्रोल पम्पहरू बन्द हुँदा उपभोक्ताले सवारीसाधनका लागि इन्धन भर्न कठिनाइ भोगिरहेका छन्। खुलेका पेट्रोल पम्पमा उपभोक्ताको लाइन लागेको छ। यसले सार्वजनिक यातायातसमेत प्रभावित भएको छ।
व्यवसायीहरूले मूल्य समायोजन गर्दा मौज्दात इन्धनको क्षतिपूर्ति वा स्पष्ट नीति नआएसम्म पम्प सञ्चालन गर्न नसकिने बताएका छन्। निगमले भने नियमित आपूर्ति भइरहेको जनाएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले उपभोक्तालाई अनावश्यक हल्लामा नपर्न आग्रह गरेका छन्।
नेपाल आयल निगम अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको गिरावटका आधारमा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार गएरातिबाट डिजेल‚ पेट्रोल‚ मट्टितेल‚ हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको थियो।
निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको थियो।
यसैगरी हवाई इन्धन ४० रुपैयाँ प्रतिलिटर घटाएको छ। यस्तै अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिकिलोलिटर २६५ अमेरिकी डलर घटेको छ। अब पेट्रोल १९७ रुपैयाँ, डिजेल तथा मट्टितेल १९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन २२९ रुपैयाँमा पाउन सकिनेछ। साथै खाना पकाउने (एलपी) ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँ कायम भएको छ।
हेर्नुहोस् उपत्यकाका पेट्रोल पम्पको पछिल्लो अवस्थाका थप तस्बिर :
