काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दलको (भ्रातृ सङ्गठनसमेत) को विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ।

नेरेसोमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) को दफा ७२ को उपदफा ३ मा ‘सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक सङ्गठन (भ्रातृ सङ्गठनसमेत) को विभिन्न निकायका पदहरूमा रहेका र राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरू नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति, आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहने छैनन्’ भन्ने व्यवस्था गरेको छ।

सोसाइटीद्वारा जारी अनुरोधमा विधानको यस व्यवस्थालाई आत्मसात् नगरी दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधानबमोजिम हुने उल्लेख छ।

अनुरोधमा भनिएको छ, “पुनश्चः नेपाल रेडक्रसका कुनै पनि तहका समितिका पदाधिकारी र सदस्यहरू कुनै राजनीतिक दलको (भ्रातृ सङ्गठनसमेत) विभिन्न निकायका पदहरूमा रहेको थाहा भएमा तथ्यसहित इमेल [email protected] मा जानकारी गराउनु हुन पनि सम्बन्धित सबैमा अनुरोध गर्दछौँ। ”

नेरेसो विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा रेडक्रसका सात सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था हो। नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भनि बेला बखत विभिन्न सरोकारवालाहरूबाट टिप्पणी भएको अवस्था छ। साथै, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको वैधानिक निकायले प्रतिबन्ध लगाउने सम्मको नीति अख्तियारी गरेको कुरा विदितै रहेको अनुरोधमा उल्लेख छ।