परिकार

राजमार्गको छेउमा सानो होटेल चलाएर प्रगति गर्ने सञ्जीव श्रेष्ठदेखि मर्स्याङ्दीको एउटा कुनाकाप्चामा ट्राउट फार्म खोलेका इन्द्रजित र देवी गुरुङको सफलताले एउटै कुरा सिकाउँछ– इमानदारीपूर्वक मिहिनेत गर्ने हो भने आफ्नै देशमा धेरै कुरा गर्न सकिन्छ।

२० असार २०८३
ट्राउट माछा खाना। तस्बिरहररू : राजेश घिमिरे
अ+
अ-

‘आज लोकल बफ छ, स्पेसल,’ होटल साहुले भन्दा भात खान बसेका हामी सबै अक्क न बक्क भयौँ। पृथ्वी राजमार्गमा विमलनगर कटेपछि डुम्रे आउनुअगाडि, गोरखाको च्याङ्ली जाने बाटो आउँछ, त्यहीको होटलको कुरा हो। साहुजीले भात पस्कँदै गर्दा हामी खासखुस गर्दै थियौँ, ‘लोकल कुखुरा त सुनेको तर के हो यो लोकल बफ?’

लमजुङको सदरमुकाम बेसीसहर जानु थियो, कामको सिलसिलामा। एकाबिहानै छुट्ने गाडीको घुइँचोबाट जोगिन हामी काठमाडौँ, सीतापाइलाबाट धार्केतिर लागेका थियौँ। आफूभन्दा साह्रै कम उमेरका तर अन्तर्राष्ट्रिय संस्थामा उच्च ओहोदामा पुगेका भाइबहिनीहरूका साथमा थिएँ। ‘केही खाएर आउनुभएको दाइ?’ भाइले सोधे, अनि मुन्टो हल्लाएको देखेर आफैँले जवाफ दिए, ‘बिहान ६ नै बजे के खानुभयो होला र? बीचमा कतै चियानास्ता गर्न पर्ला।’

राति पानी परेकाले होला भीमढुंगाबाट तल झर्दै गर्दा छपक्कै हुस्सु लागेको थियो। असार मासको हुस्सु छिचोल्दै धान खेतमा बिस्तारै उम्रँदै गरेका घर र टहराहरू हेर्दै अगाडि बढ्दै गइयो। पानी पर्ने मौसम आउन लागेकाले होला काठमाडौँबाट लखेटिएर धादिङ सरेका इँटाभट्टाहरू शान्त थिएँ। यसअघि तीनचार पटक आएको यु टर्न क्याफेमा गाडी रोक्यौँ। चियाको चुस्कीसँगै चना र उसिनेको अन्डाको मजा लिँदै गफ चुट्न थाल्यौँ। केही सय मिटरको दूरीमा धार्के थियो, त्यसपछि त हाम्रो प्रतीक्षामा, विस्तारका लागि भत्काइएको सडकका खाल्टाखुल्टी छँदै थिए। तिनै खाल्टा छल्दै गाडी चलाउँदै भाइले भने, ‘खाना चैँ दाइ नयाँ पुलमा खाने। यो बाटो हिँड्दा म सधैँ त्यही खान्छु।’

साहुले साउती मार्दै सोधेका हुन- लोकल बफ खाने। सायद सबैलाई नदिने भएर होला खुसुक्क भनेका। एक प्लेट त मगाउनै पर्‍यो भनेर मगाइयो। दिमागमा चाहिँ काठमाडौँमा जस्तो राँगाको झोलिलो मासु-द्‌याकुला आउला भन्ने थियो। तर, आयो लेदोपेदो मासु।

अन्डा र चनाले पेट भरिएकाले खासै वास्ता गरिएन, मुग्लिङ नयाँ पुल पारीको कुनै भोजनालय होला भनेर चुपचाप बसियो। पुगेपछि थाहा भयो, गोरखाको च्याङ्लीवारि तनहुँको चुन पहरामा खुलेको नयाँ पुल नामको रेस्टुराँ पो रहेछ। भात सिट्ठी लाग्ने समयको सदुपयोग गर्दै मुख चलाउनका लागि साँधेको हरियो भटमास दिँदै त्यहीका साहुले साउती मार्दै सोधेका हुन्- लोकल बफ खाने।

सायद सबैलाई नदिने भएर होला खुसुक्क भनेका। एक प्लेट त मगाउनै पर्‍यो भनेर मगाइयो। दिमागमा चाहिँ काठमाडौँमा जस्तो राँगाको झोलिलो मासु-द्‌याकुला आउला भन्ने थियो। तर, आयो लेदोपेदो मासु। भुटेको प्याज र मरमसलाले त्यसको अनुहार खसीको लेदो मासु जस्तो भएको थियो तर खाँदा चाहिँ साह्रै नरम, मुखमा नै बिलाउला कि जस्तो। होटल साहुले लोकल बफ भन्नुको कारण चाहिँ काठमाडौँका बजारमा पाइने जस्तो भारतबाट आयातित भैँसी नभएर त्यो स्थानीय रूपमा काटिएको स्थानीय पाडाको मासु रहेछ।

खाना सेट।

खानाको सेट पनि गजब थियो। रायोको साग, गाभा, गुन्द्रुकको अचार, गोलभेँडाको चटनी, मुला गोलभेँडाको अचार, तामा, फर्सी, कालो दाललगायत मौसमअनुसारको तरकारी र भात सबै स्वादिलो। साथमा अहिले गर्मीमा ठन्डक दिन मोहीको प्रबन्ध थियो, पानी मिसाएको दही हैन, दही मोथेर नौनी निकालिएको मोही थियो।

सञ्जीव श्रेष्ठले चलाएको यो रेस्टुराँमा मर्स्याङ्दीका असलादेखि अरिंगालसम्म उपलब्ध गराइने रहेछ। एउटा सानो व्यवसायबाट सुरु गरेका उनले परिवारको मद्दतबाट बिस्तारै सानदार होटेल पनि चलाएका छन्। हामी बाटोभरि लोकल बफकै कुरामा रमायौँ। सबैले पहिलो पटक ‘लोकल बफ’ भन्ने सुनेकाले खुब हाँसो पनि भयो। बेसीसहर पुगेपछि त काम सुरु भइहाल्यो। त्यो दिनभरि र भोलिपल्ट मध्यान्नसम्म पनि खाना सम्झने फुर्सद भएन। एकसरो काम फत्ते भएपछि साँझ अचानक मिठो खाने कुरा भयो। अनि तय भयो मर्स्याङ्दीको तिरतिरै उत्तरतिर लाग्ने र ट्राउट खाने।

पकौडा र अन्डा।

बेसीसहरको सहजी बसपार्क कटेर अगाडि बढ्नासाथ असारे पानी पर्न थाल्यो। गर्मीले हपहप भइरहेका बेलामा अकासे पानीले राहत दिन थाल्यो। गाडीको एसी बन्द गरेर थोरै झ्याल खोल्दै मर्स्याङ्दीलाई पछ्याउँदै अगाडि बढ्न थालियो। मर्स्याङ्दी तरियो र जलविद्युत् आयोजनाले बनाएको सानो सुरङमार्गभित्र पसेर अगाडि बढ्दै।

पानी झन् झन् दर्किन थाल्यो। पानी भरिएकाले सडकका खाल्टाखुल्टीको भेउ पाउन पनि मुस्किल हुन थाल्यो। पहिल्यै खाना पकाउनु भनिसकेकाले पनि बीचबाट फर्कने सुविधा पनि थिएन। बल्लबल्ल पुगियो- ङादी बजार। त्यहीँको एउटा कुनोमा रहेछ जान पर्ने रेस्टुराँ। बाटोमा पूरै भल बगिरहेको थियो। तैपनि आँटेर गाडी हालियो। चार मिटर अगाडि पुगेपछि त गाडी न अगाडी जान्छ न पछाडि। भलले छोपेको ढुंगाहरूको चेपो अड्किएछ। अब पानीमा पूरै रुझेर ङादी बजारमा गएर सहयोगको याचना गर्नुको विकल्प थिएन।

जापानीले ‘उपहार के दिऊँ’ भन्दा डा. टेकबहादुर गुरुङले व्यक्तिगत फाइदाका कुरा गरेको भए यतिबेला मर्स्याङ्दी गाउँपालिकाको यो कुनाका कान्ला कान्लामा बनेका पोखरीमा ट्राउट माछा कहाँ पाइन्थ्यो होला र? यहाँ मात्रै किन र नेपालभरि फैलिँदै गएको रेन्बो ट्राउट माछा खेती कता फस्टाउँथ्यो होला र?

ङादी बजारमा दिनभर थाकेर आएका खेतालाहरू शरीरलाई विश्राम दिँदै रमझममा लागेका थिए। बल्लबल्ल एउटा ट्र्याक्टर देखियो। त्यसको चालक खोज्न केही समय लाग्यो। उनी सहयोग गर्न राजी भए। परिस्थितिको मूल्यांकन गर्न उनी हाम्रो गाडी भएको ठाउँमा आए। झमझम पानी परिरहेकै थियो। उनले गाडी हेरे, हामीले विवश भएर उनलाई हेरिरह्यौँ।

आखिर उनले फोन गरेर तीनचार जना भाइहरू बोलाए। ‘गाडी सानै छ उचालौँ र सारौँ’ भन्ने कुरा आयो। हामी सबै मिलेर होस्टे हैँसे गर्न थाल्यौ। गाडी त जुरुक्क उचालियो र अलि सजिलो ठाउँ सारियो। गाडी पनि चल्यो अनि त्यसलाई बजारतिर झारियो। हामीलाई सहयोग गर्नेहरू सबै दाङ र बर्दियातिरबाट लमजुङमा काम गर्न आएका चौधरी भाइहरू रहेछन्। पारिश्रमिक लिन मानेका थिएनन्, तर ‘रमझम गर्न हुन्छ नि’ भन्दै जबरजस्ती भिडाइयो। थारूहरूको ठूलो मनको सानो उदाहरण अनुभव गर्दै हामी उकालो लाग्यौँ।

केही क्षणको हिँडाइमा नै पुगियो हाम्रो गन्तव्य अर्थात् वाई स्क्वायर मर्स्याङ्दी ट्राउट फार्म। हामी अगाडि पुगेका साथीहरूले मगाएको तात्तातो पकौडाले हाम्रो स्वागत गरिरहेको थियो। पानीले रुझेको ज्यानलाई तातो पकौडाले धेरै राहत दियो।अनि साथमा थियो त्यहीँ पालिएका हाँसका अन्डा र साँधेको भट्ट। धमाधम खान थालियो। साथीहरू होटलवालाहरूसँग मिलेर ट्राउट समाउन थाले। उनीहरूले माछा समाउँदै गर्दा आफूलाई भने कहिल्यै भेट्न नपाएका तर पत्रपत्रिकामा मात्र पढेर चिनेका मत्स्य वैज्ञानिक डाक्टर टेकबहादुर गुरुङको पो याद आइरहेको थियो।

रेन्बो ट्राउटको सुप।

नेपालमा ट्राउट माछा भित्र्याउने श्रेय जान्छ, डा. टेकबहादुर गुरुङलाई। अक्टोबर १९८७ मा मत्स्यपालनसम्बन्धी तालिमका लागि जापानमा थिए, पोखरास्थित मत्स्य अनुसन्धान केन्द्रका डा. टेकबहादुर। उनले त्यहाँको कोबायासी सहरमा नौ महिनासम्म तालिम लिए। तालिमको समापन समारोहमा उनको प्रस्तुतिबाट निकै प्रभावित भएका गभर्नरले सोधे, ‘के उपहार दिऊँ टेकबहादुर?’

उनले त्यतिबेला भनेका रहेछन्, ‘हामी नेपालीमा प्रोटिनको कमी छ। यदि मैले नेपालमा ट्राउट माछा लैजान पाएँ भने, सायद यसले त्यस समस्यालाई समाधान हुन्थ्यो कि? नेपाल र जापानको मौसम र पानी उस्तै भएकाले ट्राउट फस्टाउन सक्छ कि?’ उनको कुरा मानियो।

नेपाल फर्किएपछि डा. टेकबहादुर गुरुङले आवश्यक सरकारी कागजी तयार गरे र नेपाल सरकारका माध्यमबाट उनले जापानमा आधिकारिक पत्र पठाए। चार महिनापछि जापानले नेपालमा ५० हजार वटा ‘फर्टिलाइज्ड’ अन्डा पठायो। त्यसैका लागि उनलाई गोदावरीस्थित मत्स्य अनुसन्धान केन्द्रमा खटाइयो र नेपाल आएकामध्ये ९९ प्रतिशत अन्डाहरू सफलताका साथ कोरलियो। तर, ती भुरामध्ये धेरै दाना नपाएर मरे।

रेन्बो ट्राउट फार्म।

त्यसपछि १०० वटा वयस्क प्रजननयोग्य माछा त्रिशूली पठाइयो, त्यहाँ जापानी स्वयंसेवकहरूले पनि काम गरे। आफ्नै दाना उत्पादन र ह्याचरी निर्माण गरेपछि मात्र सन् १९९५ देखि निजी क्षेत्रलाई ट्राउट खेती सुरु गर्न अनुमति दिइएको थियो।

जापानीले ‘उपहार के दिऊँ’ भन्दा डा. टेकबहादुर गुरुङले व्यक्तिगत फाइदाका कुरा गरेको भए यतिबेला मर्स्याङ्दी गाउँपालिकाको यो कुनाका कान्ला कान्लामा बनेका पोखरीमा ट्राउट माछा कहाँ पाइन्थ्यो होला र? यहाँ मात्रै किन र नेपालभरि फैलिँदै गएको रेन्बो ट्राउट माछा खेती कता फस्टाउँथ्यो होला र?

धेरै नेपालीले माछा पकाउँदा बेस्सरी मसला हाल्छन् अनि माछाभन्दा मसलाको स्वाद बढी आउँछ। कतिले चाहिँ बेस्सरी गोलभेँडा हाल्छन् र माछाभन्दा गोलभेँडा सुप खाने जस्तो बनाउँछन्। तर, यो माछाको झोलमा मसलाले माछाको स्वाद जित्न पाएको थिएन।

वाई स्क्वायर मर्स्याङ्दी ट्राउट फार्मको कथा पनि उत्तिकै रोचक छ। पोखरा अमरसिंहमा घरजम गरेर रमाएर बसेका थिए, इन्द्रजित र देवी गुरुङ। इन्द्रजित गुरुङको पुर्ख्यौली घर चाहिँ ङादी नै हो। देवी चाहिँ कास्कीकी हुन्। इन्द्रजित सिंगापुरतिर काम गर्थे। छोराछोरी ठूला भएर आफ्नो बाटो लागे। इन्द्रजितको मन चाहिँ बेलाबेला गाउँतिर फर्किन्थ्यो। बूढाबूढी भएका बाआमालाई सम्झन्थे र रुन्थे। अनि उनी योजना बनाउँथे, मर्स्याङ्दी किनाराको आफ्नो पुर्खाको भूमिमा फर्कने र केही गर्ने। अचानक कोभिडको महामारीले संसार हल्लायो। अरूका लागि धेरै दुःखद भयो होला तर त्यसले इन्द्रजित गुरुङलाई मौका दियो। त्यसपछि पुर्खाको साढे ६ रोपनी जमिनमा सुरु भयो– वाई स्क्वायर मर्स्याङ्दी ट्राउट फार्म।

यति गफ गर्दागर्दै आइपुग्यो तारेको रेन्बो ट्राउट। इन्द्रेणीका सप्तरंगी कत्ला भएकाले रेन्बो ट्राउट कहलाइएको यो माछा तारेर झुरुमझुरुम भएको थियो। ससाना काँडासमेत मजाले चपाउन सक्ने गरी मजाले तारिएकाले तीन प्लेटजति माछा मजाले खाइयो। अनि आयो बाटाभरि माछाको झोल, अनि थालमा स्थानीय चामलको भात, खोल्साको वरिपरि उम्रेका खोले साग, धनियाँको चटनी र बोडीको तरकारी। सबैले थपीथपी आनन्दपूर्वक खाए।

तारेको रेन्बो ट्राउट।

धेरै नेपालीले माछा पकाउँदा बेस्सरी मसला हाल्छन् अनि माछाभन्दा मसलाको स्वाद बढी आउँछ। कतिले चाहिँ बेस्सरी गोलभेँडा हाल्छन् र माछाभन्दा गोलभेँडा सुप खाने जस्तो बनाउँछन्। तर, यो माछाको झोलमा मसलाले माछाको स्वाद जित्न पाएको थिएन। इन्द्रजित गुरुङले भने, ‘हामी धेरै कुरा हाल्दैनौँ, थोरै अदुवा, लसुन, धनियाँ मात्र हाल्छौँ। हाम्रो गोप्य मसला चाहिँ गाउँले चुक हो त्यो पनि निबुवाको।’

इन्द्रजित र देवी गुरुङको यो माछा फारमले बजारको माग धान्न सकेको छैन। इन्द्रजित भन्छन्, ‘माग पूरा गर्न सकिएकै छैन नि।’

रुझेको ज्यानलाई माछाको तातो झोलले धेरै राहत दिएको थियो। टन्न खानाले पेट पनि डम्म भएको थियो। आँखा निद्राले लोलाउन थालेको थियो। तर, बेसीसहर फर्कनै थियो बासका लागि। इन्द्रजित र देवी गुरुङलाई धन्यवाद दिँदै र मनमा मत्स्यवैज्ञानिक डा. टेकबहादुर गुरुङलाई साधुवाद दिँदै लागियो आफ्नो बाटो।