२० असार २०८३
कुलमान घिसिङ।
अ+
अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले महिलाको सुरक्षित यात्राका लागि सञ्चालन गर्न लागिएको ‘ब्लू बस’ योजनाको स्वागत गर्दै साझा यातायातको हरियो पहिचान कायम राख्न सरकारसँग आग्रह गरेका छन्।

सरकारले शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत आगामी साउन १ गतेदेखि काठमाडौँमा आठ वटा ‘ब्लू बस’ सञ्चालन गर्ने तयारी गरिरहेको छ। उक्त योजनाका लागि साझा यातायातका बस प्रयोग हुने र तिनको रङ निलो बनाइने चर्चा भइरहेका बेला घिसिङले साझा यातायातको हरियो रङ परिवर्तन गर्नु उपयुक्त नहुने बताएका हुन्।

उनले साझा यातायातले विद्युतीय सवारी प्रवर्द्धन गर्दै वातावरणमैत्री र दिगो सार्वजनिक यातायातको सन्देश बोकेको उल्लेख गर्दै हरियो रङ केवल रंग नभई हरित विकास र वातावरण संरक्षणप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनका अनुसार यस्तो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाउनु उचित कदम होइन।

घिसिङले महिलाका लागि निःशुल्क वा विशेष बस सेवा सञ्चालन गर्नु सकारात्मक पहल भए पनि दीर्घकालीन समाधान भने सम्पूर्ण सार्वजनिक यातायातलाई महिलामैत्री, सुरक्षित र मर्यादित बनाउनु रहेको धारणा व्यक्त गरे। उनले महिलाको सुरक्षा कुनै एउटा ‘ब्लू बस’मा सीमित हुन नहुने भन्दै सबै सार्वजनिक सवारीमा महिलाले ढुक्कसँग यात्रा गर्न सक्ने वातावरण निर्माण गर्न सरकारको प्राथमिकता हुनुपर्ने बताए।

उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै सार्वजनिक यातायात प्रणालीलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउन आवश्यक रहेको उल्लेख गरेका छन्।