सुर्खेत। वीरेन्द्रनगरकी इनिसा विकको मृत्यु प्रकरणमा न्यायको माग गर्दै उषा बालबाटिका विद्यालयका विद्यार्थीले आन्दोलन गरेका छन्।
उषा बालबाटिका विद्यालय कक्षा ११ मा अध्ययनरत १६ वर्षीया छात्रा इनिसा विकको हत्याको निष्पक्ष छानविन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन्।
शुक्रबार बिहान विद्यालय परिसरबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरुले ‘जस्टिस फर इनिसा’, ‘हत्यारालाई कडा कारबाही गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन्।
उनीहरुले जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा पुगेर धर्ना दिएका छन्।
इनिसाको मृत्यु शंकास्पद रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनीहरुको माग छ। प्रदर्शनका क्रममा विद्यार्थीहरुले केही समय विद्यालय अगाडि धर्ना दिएका थिए।
गएको २३ गते वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी इनिसा विकको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

तस्विर सौजन्य : ज्योति कटुवाल।