२३ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। आकर्षक सेवा-सुविधाको प्रलोभन देखाइ ग्रिस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौँबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ३ बस्ने लक्ष्मी थापा कार्की र बूढानीलकण्ठ ८ बस्ने प्रिया बानियाँ छन्। पक्राउमध्ये लक्ष्मीले ग्रिस पठाइदिन्छु भन्दै एकजनासँग ११ लाख ५० हजार रुपैयाँ लिएको पाइएको छ।

प्रियाले जापान पठाइदिन्छु भन्दै एक पीडितबाट दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी गरेको थियो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।