उपराष्ट्रपति यादव र रुसी राजदूतबीच भेट
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले भेटवार्ता गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटमा नेपाल-रुसबीचको द्विपक्षीय सम्बन्धका विविध आयामका विषयमा संवाद भएको थियो। यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र रुसबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रही आएकोप्रति सन्तोष जनाए। उनले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटूट बन्धनमा आधारित सम्बन्धलाई स्मरण गर्न चाहेको बताए।
यादवले नेपाललाई सोभियत संघकालदेखि मानव संसाधन विकास, पर्यटन, औद्योगिक तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसले गरेको सहयोग प्रशंसनीय रहेको बताए। “पछिल्लो समयमा दुई राष्ट्रबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपालले प्रसन्नता व्यक्त गर्दछ‚” उनले भने‚ “आगामी दिनमा नेपाल-रुस द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुने विश्वास लिएको छु।”
राजदूत सुरोभत्सेभले नेपाल-रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताए। उनले नेपाललाई जलविद्युत्, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा सहयोग गर्न रुस इच्छुक रहेको पनि उल्लेख गरे। उनले नेपाल सरकारबाट अनुरोधसहित सूची प्राप्त भए वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखानालगायत औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालनयोग्य बनाउन रुसी पक्ष तयार रहेको बताए।