६ असार २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकजन्य पानीका बोतल प्रयोग नगर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। त्यसका लागि मेलम्ची खानेपानीलाई सिधै पिउन मिल्ने गरी धारा तथा पाइपलाइन व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको स्रोतले जनाएको छ।

निर्देशनपछि कर्मचारीहरूले खानेपानी सम्बन्धी निकायसँग समन्वय गरेर पानीको गुणस्तर परीक्षण, पाइपलाइन निरीक्षण तथा धारा व्यवस्थापनको काम अघि बढाएका छन्। केही दिनअघि प्राविधिक टोलीले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको निरीक्षणसमेत गरेको बताइएको छ।

सरकारी निवासमा बोतलको पानीको प्रयोग अन्त्य गर्ने तयारीलाई खर्च नियन्त्रण, वातावरण संरक्षण र स्वास्थ्यसँग जोडेर हेरिएको छ। विशेषगरी प्लास्टिकका बोतलमा उपलब्ध पानीमा माइक्रोप्लास्टिक हुन सक्ने विषय विभिन्न अध्ययनमा उठेपछि वैकल्पिक व्यवस्थातर्फ ध्यान दिइएको जनाइएको छ।

खानेपानी सम्बद्ध अधिकारीहरूका अनुसार यो कदमले प्रधानमन्त्रीले सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक खानेपानी नै प्रयोग गर्ने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। साथै, सार्वजनिक आपूर्तिको पानीप्रति नागरिकको विश्वास बढाउने उद्देश्यसमेत यससँग जोडिएको बताइएको छ।

सम्बन्धित निकायका अनुसार मेलम्ची खानेपानी आयोजनाबाट वितरण हुने पानीको नियमित गुणस्तर परीक्षण हुँदै आएको छ। मुख्य भण्डारण ट्यांकीसम्म पुग्ने पानी आवश्यक मापदण्डअनुसार रहेको र उचित वितरण व्यवस्थापन भए सिधै पिउन सकिने स्तरको रहेको दाबी गरिएको छ।

यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठक तथा भेटघाटमा पनि बोतलको पानीको प्रयोग क्रमशः घटाइएको थियो। अब बालुवाटारमा समेत सो अभ्यासलाई संस्थागत गर्ने तयारी भएको बताइएको छ।