काठमाडौँ। पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ। तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ।
केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर नेपालगन्जमा ४० डिग्री कायम छ। अन्य क्षेत्रमा त्यसभन्दा तलै तापक्रम छ। भलै तराईका केही क्षेत्रमा भने अझै केही दिन तातो नै रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार ठाउँठाउँमा वर्षा जारी रहेको र यो क्रम अझै केही दिन जारी रहनेछ।
नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरे पनि अन्य क्षेत्रमा प्रवेश गर्न सकेको छैन। तर स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले त्यसको असरका कारण अन्य क्षेत्रमा बदली भइरहेको छ। पूर्वमा मनसुनी वायुको प्रभाव रहेको तर कमजोर रहेको जनाइएको छ। यद्यपि देशका केही मापन केन्द्रमा भारी वर्षा भएको छ।
कहाँकहाँ पर्यो पानी?
विभागका अनुसार आज राति साढे ८ बजेको अभिलेखमा पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी वर्षा तनहुँमा १३३ मिलिमिटर भएको छ। यो धेरै भारी वर्षा हो।
यस्तै पर्वतमा ६८, कास्कीमा ५१, लमजुङमा ६०, खोटाङमा ५५.६, मोरङ र सुनसरीमा ६३/६३ मिलिमिटर वर्षा भएको छ। यी सबै क्षेत्रमा भारी वर्षा भएको हो।
हल्कादेखि मध्यम वर्षा भने अन्य धेरै मापन केन्द्रमा भएको छ। यद्यपि लुम्बिनी सुदूरपश्चिम र कर्णाली प्रदशेमा भने खासै वर्षा हुन सकेको छैन।
विभागले आज (शनिबार) साँझ जारी गरेको मौसम बुलेटिनअनुसार राति कोसी र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोसी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भोलि (आइतबार) कोसी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा र बागमती, गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ।
यस्तै कोसी प्रदेशका पहाडी तथा तराई भू-भाग तथा अन्य एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।