काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
अ+
अ-

सुर्खेत। ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले उचालेका छन्।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा सुर्खेतमा सोमबार आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै पहिलो भए।

हाफ म्याराथनमा कालीकोटका विनोद रोकाय दोस्रो भए। उनले एक घण्टा नौ मिनेट ३९ सेकेन्ड र तेस्रो भएका एपीएफका गोपीचन्द्र पार्कीले एक घण्टा १० मिनेट २८ सेकेन्डमा दूरी पार गरे। आयोजकका अनुसार पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, ७५ हजार र ५० हजार रुपैयाँ नगद प्रदान गरियो।

महिलातर्फको खुला १० किलोमिटर दौड प्रतियोगितामा धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भइन्। उनले ३६ मिनेट ४० दशमलव ६० सेकेन्डमा निर्धारित दूरी पार गरे। कुल ३७ मिनेट ३ दशमलव ११ सेकेन्डमा दूरी पार गरी जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र ३९ मिनेट २८ दशमलव ८८ सेकेन्डमा निर्धारित दूरी पार गरी बाजुराकी सिर्जना पाण्डे तेस्रो भइन्। पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे।

पाँच किलोमिटर छात्रातर्फको दौडमा सुर्खेतकी कृष्णा राना पहिलो भइन्। उनले २० मिनेट ३४ दशमलव २ सेकेन्डमा दूरी पार गरिन्। जुम्लाकी अन्तिमा बुढा दोस्रो भइन्। उनले २० मिनेट ४५ दशमलव ५४ सेकेन्ड र तेस्रो भएकी बाँकेकी स्वस्तिका शाहीले २१ मिनेट २३ दशमलव २५ सेकेन्डमा निर्धारित दूरी पार गरे। प्रतियोतिामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरियो।

पाँच किलोमिटर दौडमा छात्रतर्फ कालीकोटका अनिल शाही पहिलो भए। उनले १५ मिनेट ३६ दशमलव १ सेकेन्डमा दूरी पार गरे। दोस्रो भएका जुम्लाका युवकराज बुढा शाहीले १५ मिनेट ३६ दशमलव ३ सेकेन्ड र तेस्रो भएका सुर्खेतका भुवन चालिसेले १६ मिनेट ४३ दशमलव ३ सेकेन्डमा दूरी पार गरे। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाए।

त्यस अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खेल क्षेत्रमा कर्णालीको उल्लेख्य प्रगति हुँदै गएको बताइन्। प्रतियोगिता ‘दौडिन्छ कर्णाली’ भन्ने मूल नारासहित आयोजना गरिएको हो। -रासस