गुईझोउ। दक्षिण-पश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागमा भएको भारी वर्षाका कारण नौ हजार १०० भन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रभावित क्षेत्रमध्ये कियानानको बौई-मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मंगलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा गरेको छ। यहाँका विद्यालयहरू बन्द गर्न पनि आदेश दिइएको छ।
अहिलेसम्म बाढीका कारण मानवीय क्षति भएको खबर भने नआएको अधिकारीहरूले जनाएका छन्।
वर्षाले प्रान्तका केही भागमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको छ। बिजुली आपूर्ति सञ्चालनका लागि एक हजारभन्दा बढी पावर ग्रिड मर्मतकर्मीहरू परिचालन गरिएको छ।
प्रान्तीय मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि मंगलबारसम्म प्रान्तका २० वटा भन्दा बढी स्थानमा काउन्टी-स्तरका क्षेत्रहरूमा भारी वर्षा भएको छ। जसमध्ये चार स्थानमा यस अवधिमा २०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ।