काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
फाइल फोटो
अ+
अ-

कैलाली। कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहज भएको छ।

वर्षौंदेखिको डुङ्गाको सवार यस वर्षबाट सधैँका लागि बन्द भएको छ। सम्झौता भन्दा दुई महिना अगाडि नै पुलको काम सम्पन्नको चरणमा पुगेको छ।

‘टीकापुर हाम्रा लागि नजिकको बजार बनेको छ’, गेरुवा गाउँपालिकाकी शान्ती चौधरी भन्छिन्, ‘कामको खोजीका लागि टीकापुरसम्म पुग्न समस्या हुनेछैन।’ उनले पारिवारिक सम्बन्धका हिसाबले पनि गेरुवा र टीकापुरको नजिक भएको बताइन्।

दैनिक कामकाजका लागि ओहोरदोहोर गर्ने स्थानीयलाई दैनिक नदी वारपार गरेको पैसा तिर्नुपर्ने अवस्थाको अन्त्य भएको छ।

‘कामका लागि नदी वारपार गर्नुपर्ने बाध्यताकाबीच वर्षमा हजारौँ रुपैयाँ डुङ्गा चढेको मात्रै तिर्नुपर्ने बाध्यता थियो।’ टीकापुरका शन्तलाल कठरियाले भने, ‘एकातिर त्यो डुङ्गालाई बुझाउनुपर्ने पैसाको बचत भयो, अर्कोतिर कुनै जोखिम बहन नगरी आवतजावत हुने भयो। ‘उनले कैलाली र बर्दियाको व्यापारिक सम्बन्ध झन् मजबुत हुने विश्वास व्यक्त गरे।

टीकापुरलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न टीकापुर नगरपालिकाले पुल निर्माणका लागि निकै प्रयास गरेको थियो। टीकापुर उद्योग वाणिज्य सङ्घले बर्सेनि आयोजना गर्ने औद्योगिक व्यापार मेलाको प्रमुख एजेण्डा त्यहीँ पक्की पुल बन्यो। अन्ततः पुल निर्माण अन्तिम चरणमा पुगेपछि गेरुवा गाउँपालिकाले पुलसम्म पुग्ने सडक कालोपत्रको काम सम्पन्न गरिसकेको छ।

गेरुवाको मुख्य बजार शान्तीबजारदेखि सनकट्टी पुलसम्म्को सडक कालोपत्र भएपछि आवतजावतमा झन् सहज भएको स्थानीय प्रकाश चौधरी बताउछन्। उनले जुनसुकैबेला पनि ओहोरदोहोर गर्न सकिने भएपछि सहज हुने विश्वास व्यक्त गरे।

टीकापुर नगरपालिकाले पनि पुलसम्मको सडक कालोपत्रको काम थालेको छ। चालु आर्थिक वर्षमा रु एक करोड ६४ लाखको लागतमा डेढ किलोमिटर सडक कालोपत्रको काम सुरु गरिएको टीकापुर नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए।

उनका अनुसार बाँकी ६०० मिटर सडक ग्राभेलको काम पनि थालिएको छ। ‘यस वर्ष बजेटको अभावले बजारदेखि पुलसम्मको सबै सडक कालोपत्र हुन सकेन’, उनले भने, ‘अर्को वर्ष नगरपालिकाले बजेट सुनिश्चितता गर्न सक्यो भने टीकापुरबाट पुलसम्म पुग्न १० मिनेट लाग्ने छैन।’ पुलबाटको दुवैतर्फ २५० मिटर कालोपत्र सडक निर्माण पुल निर्माण कम्पनीले नै गर्नेछ।

निर्माण भइरहेको उक्त पुललाई आवागमन सँगसँगै पर्यटन क्षेत्रसँग जोड्न सकिने विश्वाससमेत गरिँदै आएको छ। रानी कर्णाली सामुदायिक वन, शीतल सामुदायिक वन र जनशक्ति सामुदायिक वन पर्छ। जनशक्ति सामुदायिक वनभित्र कर्णाली नदीको अवलोकन गर्न सकिने गरी भ्युटावर निर्माण गरिएको छ। पुलबाट कर्णाली नदीले बनाएका फाँटहरूको अवलोकन गर्न सकिनेछ।

‘पर्यटकीय क्षेत्र टीकापुर पार्क पुगेको पर्यटक थप मनोरञ्जनका लागि सनकट्टी पुग्नसक्ने सम्भावना निकै छ’, स्थानीय पुस्कल विश्वकर्माले भने, ‘अझै जलमार्गको प्रयोग गर्ने पर्यटकलाई झन् सहज हुन सक्छ।’

विसं २०७९ पुसमा ठेक्का सम्झौता भएको पुलको काम एक वर्ष ढिलो सुरु भएको थियो। पुलको काम रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ।

‘डिजाइन तयार गर्न, वातावरणीय मूल्याङ्कनलगायत कामले पुलको काम एक वर्ष ढिलो सुरु भएको थियो’, कन्स्ट्रक्सनका साइड इन्चार्ज कृष्ण ढुङ्गेलले भने, ‘काम सुरु भएपछि हामीले रातदिन काम गरेर सम्झौताभन्दा दुई महिना अगाडि नै काम सम्पन्न गर्दैछौँ।’

उनले सरकारले बजेटको सुनिश्चितता समयमै गर्न सकेको भए गएको चैतभित्र काम सम्पन्न हुने बताए। काम गरेको कन्स्ट्रक्सनले अझै १२ करोड रुपैयाँ भुक्तानी नपाएको ढुङ्गेलको भनाइ छ।

सात सय ५२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलका १४ वटै पिल्लर छन्। पुल निर्माणका लागि रु एक अर्ब चार करोड र बाटो तथा नदी नियन्त्रणका लागि थप १४ करोड गरी एक अर्ब १८ करोड रुपैयाँको लागतमा रहेको छ।

‘पहिले काम सम्पन्न भएको पैसा नि भुक्तानी हुन बाँकी छ। अझ काम सकिएपछि पनि भुक्तानीको समस्या हुन्छ कि भन्ने डर चाहिँ छ।’ इन्चार्ज ढुङ्गेल भन्छन्, ‘समयमा भुक्तानी नपाएपछि हामीलाई भन्दा समस्या दैनिक काम गर्ने ज्यालादारीलाई हुन्छ। सरकारले भुक्तानी दिन नसकेपछि कामदारको भुक्तानी पनि समयमा हुँदैन।’